घर जान हिँडेकी बालिका दिल्लीको कोठीमा



काठमाडौं : आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याए । बालिकाले बुबाबाट वात्सल्य पाइनन् । पेट पाल्ने आधार खोज्दै १५ वर्षीया बालिका काठमाडौं छिरिन् । एउटा घरमा घरेलु कामदार बनिन् । सामान्य जीवन चल्दै थियो । त्यहीवेला नाताले काकी पर्ने नुवाकोट सूर्यगढी–६ की कृष्णमाया उनको सम्पर्कमा आइन् । बालिकाले दुःख सुनाएपछि कृष्णमायाले जागिरको आश्वासन दिइन् । बालिका आफू बस्दै गरेको घर छाडेर कृष्णमायाको डेरामा पुगिन् । 

घटना ०६८ माघको हो । आफ्नो गाउँ लैजाने भन्दै कृष्णमायाले बालिकालाई गाडी चढाइन् । बसमा बान्ता रोक्ने भन्दै औषधि खुवाइन् । तर, औषधि बेहोस गराउने थियो । ब्युँझिँदा बालिका दिल्ली पुगिसकेकी थिइन् । कृष्णमायाले १० हजार भारु लिएर बालिकालाई कोठीमा सुम्पिइन् । सुरुको एक महिना कोठामा बन्धक बनाएर उनलाई जवान बनाउने सुई र औषधि दिइयो । त्यसपछि वेश्यावृत्तिमा लगाइयो । 

घटनाको आठ वर्षपछि बुधबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका बेच्ने कृष्णमायालाई पक्राउ गरेको छ । बालिकालाई झुक्याएर दिल्लीमा बेचेको प्रहरीले जनाएको छ । कृष्णमाया काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेकी हुन् । घटनामा कृष्णमायाका श्रीमान् शेरबहादुरको समेत संलग्नता देखिएको भन्दै खोजी भइरहेको ब्युरोका एसपी अनुपमशमशेर राणाले बताए । भारतमा बन्धक बनाएर बालिकालाई सुई लगाउने लक्ष्मी र हेमा नामका महिलाको पनि खोजी सुरु गरेको छ । 

ग्राहकले गरेका थिए उद्धार 
कोठीमा पुगेका नेपाली ग्राहकले ०७५ जेठमा उद्धार गरेका थिए । बालिका हुँदा बेचिएकी उनी उद्धार हुँदा २२ वर्षकी भइसकेकी थिइन् । त्यसपछि उनी माइती नेपालको सहयोगमा देश फर्किन् । तर, एक वर्षपछि मात्रै प्रहरीमा उजुरी दिन तयार भएकी थिइन् । उनकै उजुरीपछि कृष्णमाया पक्राउ परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्