‘अलिकति तिम्रो पनि गल्ती भो, अलिकति मेरो पनि गल्ती भो, बाँकी गर्यो पापी संसारले’



काठमाडौं : छबी–शिल्पा खटपट घुम्दैफिर्दै प्रहरीको हातमा पुगेपछि उनीहरु वेपत्ता भएको धेरै भइसकेको छ । आफूहरुले खनेको खाल्डोमा आफै पर्न पुगेका यी निर्माता–नायिकाको जोडी अहिले भने ‘अलिकति तिम्रो पनि गल्ती भो, अलिकति मेरो पनि गल्ती भो, बाँकी गर्यो पापी संसारले ’ भन्ने गीत गुनगुनाएर बस्ने अवस्थामा पुगेका छन् ।

नेपाली चलचित्रका ‘बाघ’ निर्माता मानिने छबीराज ओझाको चौथो श्रीमतीका रुपमा बिबाहबन्धनमा बाँधिन पुगेकी शिल्पा पोखरेल तावाको माछो भुंग्रोमा परे झैं भएकी छिन् । यता २०७३ सालको दशैंमा गोप्य बिबाह गरेका छबी पनि जेठी श्रीमतीको लखेटाइमा परेका छन् । लामो समयसम्म आफ्नो बिबाहलाई लुकाएका उनीहरु अहिले गुप्तबासमा छन् ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् चलचित्र क्षेत्रमा डेब्यु गराएका थिए । यसको ऋण तिर्न शिल्पाले छबीसँग विवाह नै गरिन् । चलचित्र निर्माणसँगै प्रेमसम्बन्ध पनि चुलिंदै गएपछि उनीहरुबीच गोप्य विवाह भएको चर्चा अझै पनि छ ।
पछिल्लो चरणमा छबी निर्देशित ‘हवलदार सुन्तली’, ‘मंगलम्’ जस्ता चलचित्रमा काम गरिसकेकी शिल्पा श्रीमान छबीसँग मोहभंगको अवस्थामा छिन् । हाल उनलाई मायाले नभई कानूनले मात्र छबीसँग बाँधिरहेको देखिन्छ ।

शिल्पासँग बिबाह हुनुअघि छबिराजले रेखा थापा, हेमा ओझा र गितान्जली सुनुवार गरी तीन–तीन जनासँग विबाह गरिसकेका छन् । भनिन्छ, सुनुवारले आत्महत्या गरेकी थिइन् । नायिका रेखा थापा भने छबीसँग डिभोर्स गरेर अलग भैसकेकी छिन् । हेमा ओझा भने डिभोर्स नभएको अवस्थामा उनको पूख्र्यौली घरमा छिन् ।

बाबु–छोरीको उमेरजत्तिकै फरक भएकाले पनि उनीहरुको घर जम्नेमा धेरैको अविश्वास रहेको देखिन्छ । यो छबी र शिल्पा दुवैका लागि निकै सोचनीय विषय हो । निर्माता तथा नायिकाको जोडी भएकाले पनि यिनीहरुको जीवन र क्रियाकलाप आफैमा वैयक्तिक भन्दा बढी सार्वजनिक नै हुन्छ । सार्वजनिक आलोचना, टीकाटिप्पणी, चासो र निगरानी जनताको तहबाट हुनु पनि स्वभाविकै हो ।

नेता–अभिनेता, नेतृ–अभिनेतृ सबै सार्वजनिक फिगर हुन् । आफ्नो करियर सार्वजनिक रुपमा खोज्नेहरुले सार्वजनिक टीका टिप्पणी र आलोचना खेप्नै पर्छ ।

तर पनि गोप्य विवाह भएको सार्वजनिक गरिएको छोटो समयमै शिल्पाले पति छबीराज ओझाबाट आफू असुरक्षित भएको र शान्ति सुरक्षा पाउँ भनी महानगरीय प्रहरी परिसर काठमाडौंमा दिइएको उजुरी निकै सोचनीय छ । उजुरीपश्चात् प्रहरीले शिल्पा र छवी दुबै पक्षलाई छलफलमा बोलाई सहमती गराई पठाएको थियो । छवीले शिल्पाको सुरक्षामा आँच नपुर्याउने भन्दै लिखित सहमति भएपछि उनीहरु बीच विवाद टुंगो लागेको थियो ।

तर आफूले प्रमाण फेला पारेपछि छविकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छबीबिरुद्ध बहुबिवाहको मुद्दामा दायर गरिन् । हेमाले पति छबीले आफूलाई ढाँटेर शिल्पासँग विवाह गरेको भन्दै कानुनबमोजिम हदैसम्मको कारबाही होस् भनी उजुरी दिएकी थिइन् । उजुरीपछि शिल्पा र छबीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा शिल्पा र छबी गुप्तबास पसेका थिए ।

सुरुमा गिरफ्तारीबाट बच्न शिल्पाले जिल्ला अदालत पाटनमा निवेदन गरेकी थिइन् । तर पाटनले पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि शिल्पा तुरन्त सर्वोच्च अदालत पुगिन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएपछि उनी विभिन्न कार्यक्रममा सहभागी हुँदै हिंडिरहेकी थिइन् ।

तर हाल बहुबिबाहको मुद्दामा छबी–शिल्पा दुवैलाई अदालतले नै गिरफ्तार गर्ने बाटो खुलाएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेसँगै पक्राउको बाटो खुला भएको हो ।

पक्राउ गर्ने आदेश जारी गरे पनि उनीहरु हालसम्म प्रहरीकहाँ पुगेका भने छैनन् । सजायका भागिदार फिल्म निर्माता छबी र नायिका शिल्पाको आगामी जीवन कस्तो होला ? आफैले खनेको खाल्डोमा आफै पर्न पुगेका दुवैको जीवन के सरल रेखामा अघि बढ्ला ?

प्रतिक्रिया दिनुहोस्