मधुमेह लाग्न नदिन के गर्ने र लागेको व्यक्तिले ध्यान दिनुपर्ने कुराहरु : डा. दीपक मल्ल



नेपालमा पछिल्लो समय मधुमेह अथवा चिनी रोग (डाइबिटिज) का बिरामी बढ्दै गइरहेका छन् । मधुमेह कस्तो खालको रोग हो ?

मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुनु हो । हाम्रो शरीरलाई चिनी अथवा सुगर चाहिन्छ । चिनी बिना मान्छे बाँच्न सक्दैन । चिनीबाट कार्बाेहाइटेड र इनर्जी पाउने हो । तर त्यो चिनीको मात्रा शरीरमा धेरै भयो भने मधुमेह हुने हो । शरीरमा इन्सुलिन भन्ने तत्व निस्कन्छ र प्यानक्रियाजग्ल्यान्ड हुन्छ । त्यो ग्ल्याण्डले इन्सुलिन्स बनाउँछ । इन्सुलिन बनाउँदै बनाएन भने त्यसलाई हामी ‘टाइप वान मधुमेह’ भन्छौँ ।

नेपालमा मधुमेहको अवस्था कस्तो पाउनुहुन्छ ?
अहिले नेपालले मधुमेह रोगको बारेमा अनुसन्धान गर्न पाएको छैन । तर एउटा अन्तर्राष्ट्रिय डाइबिटिज फेडरेसनले हरेक वर्ष तथ्यांक निकाल्दा सन् २०१७–२०१८ मा हाम्रो ४ प्रतिशत जनसंख्यामा मधुमेह देखाएको छ । सन् २०१६ मा ३.३ प्रतिशत मात्रै थियो ।

अहिले आएर लगभग वर्षमा १ प्रतिशत नै बढेको देखिन्छ । यो तथ्यांकले पनि बढ्ने क्रम धेरै भएको देखाउँछ । हामीले आफ्नो अभ्यासमा पनि पहिलाको भन्दा अहिले धेरै नै अन्तर पाइरहेका छौँ । हरेक दिन, हरेक वर्ष मधुमेह बिरामीको संख्या एकदमै बढ्दो छ ।

मधुमेह लाग्यो भनेर नागरिकले कसरी अनुमान लगाउने ?
पिसाब धेरै लाग्नु, पानी तिर्खा धेरै लाग्नु र ज्यादा भोग लाग्नु । मधुमेह लागेको व्यक्ति छोटो समयमा धेरै दुब्लाउँछ । यी ३ वटा प्रमुख लक्षण हुन् । जसलाई अंग्रेजीमा ‘थ्रिपी’ भनिन्छ । तर हामीले जे भन्यो त्यही कुरा बिरामीमा नआउन पनि सक्छ ।

नेपालको अवस्थाको कुरा गर्ने हो भने पहाडी क्षेत्रका नागरिक आउन–जान एकदमै गाह्रो हुने अवस्था छ । सहरमा भएका बिरामीहरु केही न केही लक्षण लिएर अस्पताल आउनुहुन्छ । सुरुमै आँखाको ज्योति जानु, मृगौला खराब हुनु, खुट्टाको नशा सुकिसकेको र खुट्टामा घाउ भएको अवस्थामा बल्ल अस्पताल आउने बिरामी पनि छन् ।

त्यसैले मधुमेहको लक्षण यो नै हुन्छ भन्ने चाहिँ हुँदैन । तर सबैभन्दा ठूलो कुरा यसमा आफ्नो परिवारमा कसैलाई मधुमेह भएको छ भने अन्य सदस्यले मलाई पनि यो रोग लाग्नसक्छ है भन्ने जानकारी हुनुप-यो। लाग्नैपर्छ भन्ने कुरा पनि होइन । दुई, तीन जनामा एक जनामा लाग्न सक्छ ।

कसैको परिवारमा मधुमेहको बिरामी छ भने आफू पनि सचेत हुनु, समय–समयमा स्वास्थ्य परीक्षण गर्नु नै उत्तम उपाय हो । ४०–४५ वर्ष लागेपछि मधुमेहको परीक्षण गर्नैपर्छ । अथवा जो मोटो छ, उचाई अनुसारको तौल धेरै भयो, बिएमआई ३० भन्दा पनि धेरै भयो, परिवारमा कसैलाई मधुमेह छ, ब्लड प्रेसर, कोलेस्टेरोल छ भने त्यस्ता व्यक्तिले ३०–३५ वर्षको उमेरमा पनि मधुमेहको परीक्षण गर्नुपर्छ ।

मधुमेह लाग्नुको मुख्य कारण केके हुन् ?
मधुेमह ‘टाइप वान’ र ‘टाइप टु’ हुन्छ । ‘टाइप वान’मा इन्सुलिन नै बन्दैन शरीरमा । मोटोपन, खानपिन, मसल्स भएन भने, इन्सुलिन छ तर कम मात्रामा उत्पादन भयो अथवा इन्सुलिन उत्पादन हुँदा पनि शरीरले प्रयोग गर्न सकेन भने त्यसलाई ‘टाइप टु’ मधुमेह भनिन्छ ।

अव्यवस्थित खानपान, चिल्लो तारेको खानेकुरा धेरै खाने व्यक्तिलाई मधुमेह लाग्न सक्छ । मिसावट र फास्टफुडले पनि समस्या ल्याउँछ । तपाईंलाई भोक लागेको बेलामा कुनै पनि ठाउँमा गएर खानेकुरा खानु हुन्छ । त्यस्तो किमिसको खानेकुरामा कोलेस्टेरोल लेवल हाई हुन्छ । कहिले पकाएको, कहाँबाट ल्याएको भन्ने कुरा थाहा हुँदैन । त्यसैले स्वस्थ खानेकुरा खानुप-यो ।

मधुमेहको उपचार भनेको सबैभन्दा पहिलो कुरा मानसिक तनाव कम, खानापानमा ध्यान दिने अनि मात्र बल्ल औषधिमा आउने हो । नेपालीहरुमा मधुमेह अहिले युवा उमेरमा पनि देखापर्न थालेको छ । विशेषगरी विदेशबाट फर्केर आउने धेरैलाई देखापर्न थालेको छ । विदेश जानुभन्दा पहिला स्वास्थ्य अवस्था राम्रो भए पनि पछि समस्या आउने र विदेशबाट आउनेहरुमा जोखिम पनि धेरै छ । विदेशबाट आउनेमा मृगौला फेल भएको, आँखा, नशा र मुटुमा पनि समस्या भएका व्यक्तिहरु पनि धेरै छन् ।

मधुमेह लाग्न नदिन के गर्ने र लागेको व्यक्तिले ध्यान दिनुपर्ने कुरा केके हुन् ?
मधुमेह लागेको बिरामीको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको नियमअनुसार खानपान, सुत्ने, हिँड्ने गर्नुप¥यो । मानसिक तनाव एकदमै कम गर्नुपर्छ । तपाईं निदाएर मात्रै हुँदैन सुत्नु नै पर्छ । निदाएको छ तर धेरै तनाव लिएर सुत्नुभयो भने अरु हर्माेनको कारणले गर्दा सुगर बिहान उठ्दा हाई हुनसक्छ । समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाँच्ने गर्ने हो भने शरीरको लागि व्यायाम पनि भयो र मानसिक तनाव पनि कम हुन्छ ।

दोस्रो कुरा चिकित्सकले दिएको औषधी तोकिएको समयमा नियमित खानुर्पयो । दुई पटक खाने औषधी छ, एक पटक मात्रै खानुभयो भने काम गर्दैन । मधुमेहको औषधी धेरै छन् । कोही खाना अगाडि, केही खाना पछाडि खाने छ भने कोही औषधी खानाको पहिलो गाँसमै त कोही खानाको बीचमा खानुपर्ने छ ।

चिकित्सकले मात्रै लेखेर भएन, बिरामीले पनि राम्रोसँग आफ्नो औषधिको बारेमा बुझ्नुर्पयो । बिरामीले कुन औषधि कतिखेर र कसरी खाने भन्ने बारेमा लेखेर राख्नु प-यो । चिकित्सकसँग खासै नबुझ्ने अनि औषधि लिएर घर गएपछि औषधि कसरी खाने भन्ने बारेमा पनि अन्योल हुने गरेका छन् । अनि आफ्नै गाउँमा गएर अन्य मधुमेह रोगीहरुलाई सोध्छन् । मैले त खानापछि खाएको छु भन्ने जवाफ खानाअघि खानुपर्ने औषधिमा खाइयो भने त्यो औषधिले राम्रो काम गर्दैन ।

सबै औषधिको फरक–फरक बाटो हुन्छ । एउटा बाटोमा जाने औषधि अर्काे बाटोमा गयो भने काम लाग्दैन । मधुमेहको औषधि मुटु, क्यान्सरको लागि काम गरिरहेको हुन्छ भने कतिपय औषधिले मोटोपन घटाइरहेको हुन्छ ।

त्यसैले औषधि रोक्नुभन्दा पनि सानो डोजमा औषधि निरन्तर खाइरहेको राम्रो हो । एकै पटक औषधि बन्द गर्नको लागि बिरामी चिकित्सकको सम्पर्कमा हुनुप¥यो । हरेक महिना स्वास्थ्य परीक्षणमा आउँछु भन्नु पर्यो । साथै मधुमेहका मानसिक तनाव नलिने, समयमा उठ्ने, समयमा औषधि र खाने कुरा खाने आफ्नो काम गर्ने होल डेको प्लान बिरामीले बनाउनुपर्छ ।

मधुमेह भएको बिरामीले एकै पटक धेरै खाने होइन । थोरै–थोरै धेरै पटक खाने बानी बसाल्नु पर्छ। दिनमा ६ पटक खान मेरो सुझाव छ । बिहान ६, ९, १२, दिउँसो ३, साँझ ६ र ९ बजे खानुपर्छ । यसरी आफ्नो दैनिक जीवनलाई परिवर्तन गर्न एकदमै जरुरी छ ।

मधुमेह भन्दैमा बिरामीले दौडधुप नै गर्नुपर्छ, नखाई बस्नुपर्छ भन्ने होइन । बिरामीले अरुले जसरी नै खाने हो । अरुले सबै कुरा खाएको छ, मधुमेह बिरामीले पनि खानुपर्छ तर अरुले जसरी खानु चाहिँ भएन । तर जुन दिन अलि धेरै अथवा एक्स्ट्रा क्यालोरी खाइन्छ त्यो दिन बिरामी एक्स्ट्रा हिँड्नुपर्छ ।

उपचारको क्रममा औषधि मात्रै सबैभन्दा ठूलो कुरा होइन। बिरामीले हिँड्ने, डुल्ने बसिराख्ने काम नगर्ने, ९० मिनेट बस्नु भएको छ भने १५ मिनेट हिँड्ने । दैनिक हिँड्नु पर्छ भन्ने पनि होइन, दिनमा ४५ मिनेट, हप्तामा ३ दिन हिँड्नु भयो भने पनि मधुमेह औषधिको साथसाथै कम पनि भएर जान्छ ।

मधुमेहका बिरामीले खान नहुने चिज पनि हुन्छ ?
हाम्रो खानामा कार्बाेहाइड्रेड, प्रोटिन, फ्याट पनि चाहिन्छ । हामीले कम गर्ने हो भने कार्बाेहाइड्रेडको मात्रा हो । चामल, रोटी अर्थात् अन्नहरु कम गर्नुपर्छ । तर बिरामीलाई यो पनि नखा, त्यो पनि नखा भनेर मानसिक तनाव दिनु हुँदैन । कुनै पनि भोजमा जाँदा खानै पाएन भने मानसिक तनाव हुन्छ । खाने तर धेरै खानु भएन। जस्तै जेरी, स्वारी, लड्डु एकै पटक खानु भएन । जुन कुराले सुगर बढाउँछ, ती कुराहरु कम गर्नुप¥यो । सबै कुरा आफ्नो लेवलमा राखेर खाने हो भने यो नखा, त्यो नखा भन्नु पर्दैन ।

उपचारको लागि काठमाडौं नै आउनुपर्छ भन्ने छैन । इन्टरनल मेडिसिनमा एमडी गरेका सबै चिकित्सकहरुले मधुमेहको बारेमा हेर्न मिल्छ र सबैले हेरेर मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्