विद्यार्थी सहपाठीको हत्या गरेको अभियोगमा २५ जनालाई मुद्दा



बाङ्ग्लादेश : बाङ्ग्लादेशमा सामाजिक सञ्जालमा सरकारविरुद्ध लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा प्रहरीले २५ जना व्यक्तिलाई मुद्दा चलाएको छ । एक्काइस वर्षीय आबरार फाहद राजधानी ढाकास्थित बाङ्ग्लादेश युनिभर्सिटी अफ इन्जिनियरिङका विद्यार्थी थिए । उक्त विश्वविद्यालयमा एउटा समूहले फाहादलाई पिटीपिटी मारेको बताइएको छ। उक्त घटनापश्चात् देशभरि रहेका विश्वविद्यालय र क्याम्पसमा विरोधप्रदर्शन भएको थियो ।

प्रहरीले ११ जना हत्यामा प्रत्यक्ष संलग्न रहेको आरोप लगाएको छ। अन्यले साङ्घातिक आक्रमणमा सहयोग पुर्‍याएको बताइएको छ । अभियोग लगाइएकामध्ये धेरै सत्ताधारी पार्टी अवामी लीगसँग आबद्ध युवा सङ्गठनका सदस्य छन् । बाङ्ग्लादेश छात्र लीग (बीसीएल) नामक समूहले विद्यार्थीहरूलाई यातना दिनुका साथै बलपूर्वक गर्ने गरेको आरोप लाग्ने गरेको छ।

के भएको थियो ?
आबरार फाहद स्नातक तहको अध्ययन गर्दै थिए। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार फाहादलाई उनको कोठाबाट राति आठ बजेतिर लगिएको र झन्डै चार घण्टा कुटपिट गरिएको थियो। पछि उनको मृत्यु भयो । शवपरीक्षण गरेका डाक्टर सोहेल महमुदले शरीरभरि चोट लागेको बताए ।

‘उनको हत्या धार नभएको हतियार प्रहारबाट भएको हामीलाई लाग्छ,’ ती चिकित्सकले भने । एक विद्यार्थीले कुटपिट भएपछि आफूले फाहादलाई देखेको बताएका छन् । तर आफूमाथि आक्रमण हुने डरले उनले आफ्नो परिचय खुलाउन चाहेनन् । ‘अन्य केही विद्यार्थीसँग मिलेर मैले आबरारलाई तल ओरालेँ। उनी जीवितै थिए,’ ती विद्यार्थीले बीबीसीलाई भने, ‘उनले आफूलाई अस्पताल लान अनुरोध गरिरहेका थिए।’

उनले भारतसँग सरकारले गरेको पानी बाँडफाटसम्बन्धी एउटा सहमतिको आलोचना गरेका थिए। त्यसको केही दिनपछि उनको शव छात्रावासमा फेला परेको थियो । उक्त घटनाको विश्वविद्यालयका छात्रबाहेक शिक्षक तथा पूर्वविद्यार्थीले पनि विरोध गरेका थिए। विरोधको क्रम अन्य सहरमा पनि फैलियो। प्रदर्शनकारीहरूले नाराबाजी गर्नुका साथै सडक अवरुद्ध गरेका थिए । उनीहरूले घटनामा संलग्न भएका सन्दिग्ध व्यक्तिहरूलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्