उपनिर्वाचनमा सुदूरपश्चिमका सात वडामा २२ को उम्मेदवारी



बैतडी : बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका सात वडामा अगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बैतडीका तीन, डोटीको एक, अछामको एक, बाजुराको एक र कञ्चनपुरको एक वडा गरी सुदूरपश्चिमका सात वडामा उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्ष रिक्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन हँुदैछ । यस्तै डोटीको आदर्श गाउँपालिका–२, अछामको मल्लेख गाउँपालिका–५, बाजुराको त्रिवेणी नगरपालिका–१ र कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिमका यी सात वडाका लागि २२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको उम्मेदवारको मनोनयन दर्तामा २२ जनाको उम्मेदवारी परेको छ ।

बैतडीमा ३ वडाका लागि आठको उम्मेदवारी
बैतडीमा आठ उम्मेदवारको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडाका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । सुर्नया गाउँपालिका–१ मा अध्यक्ष पदका लागि दुई उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली काङ्ग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै पुर्चौडी नगरपालिका–४ मा (नेकपा)का तर्फबाट शैलेन्द्र धानुक, नेपाली काङ्ग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए । यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडाध्यक्ष पदका लागि तीन उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । (नेकपा)बाट नरेन्द्रप्रसाद भट्ट, नेपाली काङ्ग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

डोटीमा चारको उम्मेदवारी
डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि चारको उम्मेदवारी परेको छ । जसमा (नेकपा) का रामबहादुर बोहरा, काङ्ग्रेसका महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

अछाममा नेकपा र काङ्ग्रेसबीच मात्रै प्रतिष्पर्धा
अछामको मेल्लेख गाउँपालिका–५ को वडाध्यक्षका लागि दुई दलले मनोनयन दर्ता गरेका छन् । (नेकपा)का उम्मेदवार रमेशबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् । यसैगरी नेपाली काङ्ग्रेसको तर्फबाट वीरबहादुर बोहोराले मनोनयन दर्ता गराएका हुन् ।

बाजुरामा तीनको उम्मेदवारी
बाजुराको त्रिवेणी नगरपालिका–१ का लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । वडाध्यक्षका लागि (नेकपा)का मनराजे बुढा, काङ्ग्रेसका खगेन्द्र चदारा र राप्रपाका मीनबहादुर ढोलीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए ।

कञ्चनपुरमा पाँच दल भिड्दै
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । वडाध्यक्षका लागि काङ्ग्रेसका दीप तामाङ, (नेकपा)का कृष्ण तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राप्रपाका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

उम्मेदवारमाथि बिहीबार उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारलाई मङ्सिर १ गते निर्वाचन चिह्न प्रदान गरिनेछ । उपनिर्वाचन हुने सुदूरपश्चिमका यी पाँच जिल्ला सात वडाबाट १० हजार ९३६ मतदाताले उपनिर्वाचनमा भाग लिने जनाइएको छ  ।

प्रतिक्रिया दिनुहोस्