विरगंजमा विद्यार्थी र प्रहरीबिच झडप, दुई प्रहरीसिहत आठ घाइते



वीरगन्ज : प्रधानाध्यापक सरुवाको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप हुँदा दुई जना घाइते भएका छन् । प्रअ सरुवाको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीले ढुंगामुढा गर्दा दुई प्रहरी घाइते भएका हुन् ।

घाइते हुनेमा प्रहरी निरीक्षक राजेश दत्त र प्रहरी जवान मुकेश यादव छन् । झडपका क्रममा माईस्थानस्थित विद्यापीठ माविमा कक्षा १० मा अड्ध्ययनरत साेनु सिंहलगायत आधा दर्जन विद्यार्थीसमेत घाइते भएका छन् ।

वीरगन्ज महानगरपालिकाले माईस्थानस्थित विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरूले बुधबार बिहानैदेखि वीरगन्ज महानगरपालिका कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । सोही क्रममा प्रहरी र आन्दोलनकारी विद्यार्थीबीच झडप भएको हो ।

प्रदर्शनकारीले महानगरपालिकाका मेयर विजयकुमार सरावगीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । विद्यार्थीको आन्दोलनले घण्टाघर क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ । घण्टाघर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ ।  

 

महानगरपालिकाले प्रअ मेहतालाई सुखचैना माध्यमिक विद्यायलमा सरुवा गरेपछि विद्यार्थीले आइतबारदेखि नै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्