एक महिनामा ७० हजारबढी पर्यटक बुलबुलेमा



वीरेन्द्रनगर : सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

दशैँ र तिहारजस्ता चाडपर्वका बेला यहाँ घुम्न आउनाका साथै पिकनिकका लागि पनि पर्यटक आउने गर्दछन् । चाडपर्व सकिएसँगै पिकनिकस्थलको रुपमा यो क्षेत्र भीड लाग्ने गरेको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँ बुलबुले उद्यान पुनःनिर्माण गरिनाका साथै तालमा डुङ्गा पनि सञ्चालन गरिएको छ ।

दशैँ तिहारपछि बुलबुले ताल घुम्न आउनेको सङ्ख्यामा ह्वात्तै बढेको उक्त समितिका कर्मचारी निर्मला बास्तोलाले बताउनुभयो । मुगुको रारा ताल घुम्न आउने पर्यटक बुलबुलेमा पनि घुमेरै जाने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेने गरेको उहाँको भनाइ थियो ।

Related image

बुलबुलेमा यतिबेला दैनिक तीन हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । बर्दियादेखि पिकनिक आउनुभएका कृष्ण रोकायले आफूलाई बुलबुले राम्रो लागेको बताउनुभयो । त्यसैगरी बाँकेबाट घुम्न आउनुभएका सरिता मगरले पहिलेको भन्दा केही परिवर्तन भएको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन सके बाह्य पर्यटकको आकर्षण बढ्ने जानकारी दिनुभयो । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै त्यहाँको आम्दानीसमेत बढन थालेको छ । गत वर्ष दुई लाख ४७ हजार पर्यटक आउँदा रु पाँच लाख आम्दानी भएको उक्त समितिका लेखापाल खड्ग रानाले जानकारी दिनुभयो ।

सवारी साधन पार्किङ स्थल, पिकनिक स्पट, ‘फिलिम सुटिङ’, खानेपानीको व्यवस्था, डुङ्गामा सयरजस्ता सुविधाका कारण बुलबुले तालबाट आम्दानी हुन थालेको र सो आम्दानी बुलबुलेको संरक्षण, विकास, र व्यवस्थापनमा खर्च हुने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्