आगलागीका घाइते इन्जिनियर दम्पतीलाई भ्यालुअर्स एसोसिएसनको एक लाख



काठमाडौं : आगलागीमा घाइते भएर कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका इन्जिनियर दम्पती अप्सरा श्रेष्ठ र पुष्करराज सिंहको स्वास्थ्यस्थिति अझै जोखिमपूर्ण छ ।

 

सडक विभागमा कार्यरत इन्जिनियर दम्पती गत शनिबार आगलागीमा परी घाइते भएका थिए । आफ्नै घरमा आगो तापिरहेका बेला ग्यास हिटर विष्फोट भई नाबालिग छोरासहित इन्जिनियर दम्पती दुर्घटनामा परेका हुन् ।

 नेपालमा उपचार सम्भव नभएपछि चिकित्सकले उनीहरूलाई भारत लैजान सल्लाह दिएका छन् । भारतमा लगी उपचार गराउन कम्तीमा ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

 उपचारखर्च जुटाउन इन्जिनियरिङसम्बद्ध पेसागत संघसंस्थाले पहल थालेका छन् । नेपाल भ्यालुअर्स एसोसिएसनले उनीहरूको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।

 

एसोसिएसनका अध्यक्ष इन्जिनियर ऋषि कोइराला, उपाध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो र सचिव इन्जिनियर मुक्ति पाण्डेले अप्सराका बुवा प्रेमकुमार श्रेष्ठलाई बुधबार बिहान एक लाखको चेक हस्तान्तरण गरेका छन् । 

एसोसिएसनले थप सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । उसले थप सहयोगका लागि सबैसँग अपिलसमेत गरेको छ । घाइते दम्पतीको उपचारका लागि रकम जम्मा हुने क्रम जारी छ ।

 

उनीहरूको उपचारका लागि रकम सहयोग गर्न इच्छुक व्यक्तिले प्रेमकुमार श्रेष्ठको खातामा रकम जम्मा गर्नसक्ने जानकारी पनि एसोसिएसनले दिएको छ । एसोसिएसनका अध्यक्ष कोइरालाले एसोसिएसनमार्फत पनि सहयोग गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्