सवारी साधनहरुले नेपाल भ्रमण वर्षको प्रचार गर्ने



काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को तयारी व्यापक ढंगले भइरहेको छ ।

२० लाख पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यसहित शुरु गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अहिले अहोरात्र खटिएका छन् ।

यसै सन्दर्भमा नेपालका सार्वजनिक सवारी साधनहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्ने उद्देश्यका साथ सवारी साधनमा प्रचार सामाग्री राख्ने भएका छन् । आज एक समारोहबीच मन्त्री भट्टराईले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचायसहितको टोलिलाई सवारी साधनमा राखिने स्टीकर र लोगो हस्तान्तरण र वितरण गरेर शुभारम्भ गरेका छन् । त्यस अवसरमा मन्त्री भट्टराईले यातायात व्यवसायी राष्ट्रिय महासंघका सम्पूर्ण सदस्यहरुलाई यस कामका निम्ति धन्यवाद दिँदै नेपाल भ्रमण वर्षको प्रचार क्षेत्रमा यो महत्वपूर्ण कदम हुने बताएका छन् ।

आजदेखि नेपालमा सञ्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएका छन् । उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण वर्षका बारेमा तालिमको व्यवस्था गरिने छ । त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने छ ।

यी कामको समन्वय पर्यटन मन्त्रालयमा, भ्रमण बर्ष सचिबालय पर्यटन बोर्ड, स्थानीय तह, यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक लगायतका संघसंस्थाले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्