धनुषामा आमाले खुवाइन् दुई छोरालाई विष, गाउँले भन्छन्–‘अन्हेर भ गेलै’



जनकपुरधाम : लोग्ने वैदेशिक रोजगारमा गएका बेला भोग्नुपर्ने पारिवारिक कलह, सामाजिक लाञ्छना र अभावका कारण महिलालाई आत्महत्या गर्न बाध्य हुने घटना भइरहेका छन् ।

 

यसक्रममा पति वैदेशिक रोजगारमा रहेका बेला धनुषाको लक्ष्मीनियाँ–१ सोनामाई खजुरी टोलकी रीनादेवी यादवले आफ्ना दुई छोरालाई विष सेवन गराई आत्महत्या प्रयास गरेकी छिन् । 

विष खुवाएका दुईमध्ये एक छोराको मृत्यु भएको छ भने अर्को छोराको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । छोराहरूलाई विष खुवाई आफैं पनि खाएकी आमा रीनाको पनि जनकपुर अञ्चल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घरायसी विवादका कारण रीनाले जेठा छोरा ऋतिक र कान्छा रितेशलाई सँगसँगै विष सेवन गराएकी थिइन् ।  रीनाको पति रवीन्द्र यादव वैदेशिक रोजगारबाट फर्केका छैनन् । घटनापछि गाउँलेहरू भन्छन्, ‘अन्हेर भ गेलै ।’

सोही गाउँपालिकामा इँटा भट्ठामा कार्यरत एक महिलाले दुई वर्षअघि आत्महत्या गरेकी थिइन् । दस वर्षदेखि वैदेशिक रोजगारमा रहेका पल्टु यादवकी नाउँ खुल्न नसकेको श्रीमतीले टोलसमाजले लगाउने नानाथरीका दोषबातका कारण आत्महत्या गरेकी वैदेशिक रोगारीसम्बन्धी सामी परियोजनाका प्रदेश २ प्रमुख रामकुमार कर्णले बताए ।

 

उनका अनुसार वैदेशिक रोजगारमा भएका व्यक्तिका घरनीले आत्महत्या लगायत अन्य आपराधिक काम गर्न विवश हुने गर्ने थुप्रै घटना भइरहेका छन् । 

वैदेशिक रोजगारमा जाने नेपालीमध्ये सबैभन्दा बढी धनुषाका छन् । आर्थिक वर्ष २०७४÷७५मा मात्र धनुषाबाट ३४ हजार दुई सय ४७ जना व्यक्ति रोजगारीका लागि खाडी मुलुक गएका छन् । 

प्रतिक्रिया दिनुहोस्