सत्तामा बस्ने कि हट्ने निर्णय यादवको कोर्टमा



काठमाडौं : समाजवादी पार्टीको आज बसेको संघीय परिषदको बैठकले समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने अपेक्षा गरिएपनि यस सम्बन्धी निर्णय गर्न सकेन । पटक पटक ओली सरकारबाट बाहिरिनु पर्ने धारणा राख्दै र आन्तरिक रुपमा पनि दबाब बढाउँदै आए पनि संघीय परिषदका अधयक्ष डा. बाबुराम भट्टराईले सरकारबाट बाहिरिने वा नबाहिरिने निर्णय गर्ने अधिकार कार्यकारणी समितिका अध्यक्ष उपेन्द्र यादवमा रहेको बताएपछि यस विषयमा बैठकले कुनै निर्णय नलिएको हो ।

गत बुधबार पदाधिकारी बैठकमा पनि सरकारमा बसिरहने कि छाड्ने भन्ने बहस भएको थियो । अब यस सम्बन्धी निर्णय भोलिदेखि बस्ने बैठकले लिने बताइएको छ ।

समाजवादी पार्टीमा संघीय परिषद ‘सेरेमोनियल संरचना’ हो, जसले कुनै निर्णय गर्न सक्दैन– पार्टीका एक नेताले बताए । उनका अनुसार यादव अध्यक्ष रहेको नेतृत्व गरेको कार्यकारणी समिति अधिकारप्राप्त संरचना भएकोले पार्टीका हरेक निर्णय त्यसैको बैठकले गर्दछ । जुन बैठक भोलि (शुक्रबार)बाट शुरु हुँदैछ । डा. भट्टराईले सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने निर्णय गर्ने सम्बन्धमा सत्ताको बल यादवको कोर्टमा फ्यालिदिएका छन् ।

भट्टराईले आजको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भनेका छन्–‘सरकारको नेतृत्व गर्ने पार्टीले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कातर्फ प्रदेश प्रमुखलाई एकलौटी निर्णय गरेर हटाउनेजस्ता काम गरिरहेको छ । साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादासमेत ख्याल गरिरहेको छैन ।’

उनले संघीय सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्नु जरुरी रहेकोमा विशेष जोड दिएका छन् ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता गर्दादेखि नै सरकारमा बसिरहने कि बाहिरिने भन्नेमा बहस हुँदै आएको छ । भट्टराई पक्षले तत्काल सरकार छाड्नुपर्ने मत राख्दै आए पनि अध्यक्ष उपेन्द्र यादव पक्ष सहमत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्