लुम्बिनीमा त्रिपिटक वाचन शुरु



रुपन्देही : बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आजदेखि शुरू भएको छ । त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी शुभारम्भ गरे।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रम तय गरेको बताए। उनले प्रदेशको समृद्धिका लागि पर्यटनलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढाएको बताए।

मुख्यमन्त्री पोखरेलले कपिलवस्तुको तिलौराकोट उत्खननको काम अघि बढेको र निग्लिहवामा कनकमुनि बुद्ध, गोटिहवामा क्रकु्च्छन्द बुद्धका प्रतिमा राख्ने र नवलपरासीको रामग्राममा बुद्ध सङ्ग्रहालय निर्माणको योजना बनेको बताए। उनले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको गरिमा बढाएको उल्लेख गरे।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीले विश्वभर एकतार भाइचाराको सन्देश फैलाएको धारणा राखे। आयोजक समितिका संयोजक भिक्षु मैत्री महास्थवीरले सरकारीस्तरबाटै लुम्बिनीमा आध्यात्मिक गतिविधि सञ्चालन गनुपर्ने बताए।

त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाइ बिहारको सहयोगमा दोस्रो पटक आयोजना गरिएको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मा, चीनलगायत २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन् ।

आगामी शनिबारसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्र्तगतका विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटकको वाचन हुनेछ ।

पहिलो दिन नेपाली भिक्षुहरुले सूत्रपिटकअन्तर्गतको दीर्घनिकायको ब्रह्मजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गरेका छन्। दोस्रो दिन म्यान्माका भिक्षुहरुले अभिधम्मपिटक वाचनको नेतृत्व गर्ने छन् भने तेस्रो दिन थाई भिक्षुुहरुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने छन्।

त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । यसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यसमाा भगवान बुद्धको उपदेश सङ्ग्रहीत छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरिनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचनहरु सङ्ग्रह गरिएका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्