महन्थ ठाकुरको कार्यकक्षमा राजपा अध्यक्षमण्डलको बैठक बस्दै 



काठमाडौं  : अध्यक्षमण्डल संयोजक फेरिएपछि राष्ट्रिय जनता पार्टी(राजपा) को अध्यक्षमण्डल बैठक बुधबार पहिलोपटक बसिरहेको छ । पार्टी मुख्यालय काठमाडौंस्थित मधेस भवनमा बसिरहेको बैठकमा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्यहरू महेन्द्रप्रसाद यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झा सहभागी छन् ।

 

अध्यक्षमण्डल राजपाको सर्वोच्च नेतृत्व रहने वैधानिक व्यवस्था छ । अध्यक्षमण्डलका अध्यक्षहरूले आफूमध्येबाट पालैपालो दुईदुई महिनाको कार्यकाल चक्रीय प्रणालीका आधारमा रहने गरी एक संयोजक चयन गर्ने व्यवस्थाअनुरूप गत मंसिर महिनाको पहिलो सातामा महतो संयोजकमा छनोट गरिएका थिए । संयोजकका रूपमा माघ पहिलो सातासम्म कार्यकाल रहेको महतो पहिलोपटक बैठक बसाल्न सफल भएका हुन् । 

बैठक अध्यक्षमण्डलका पूर्वसंयोजक ठाकुरको कार्यकक्षमा भइरहेको छ । सामूहिक नेतृत्वको भावनालाई अंगीकार गर्दै अध्यक्षबाट सर्वसम्मतिले निर्णय गरिनुपर्ने वैधानिक व्यवस्थाका कारण यसअघि बैठक बस्न नसकेको हो । 

अध्यक्षमण्डल सदस्य ठाकुर बैठककै दिन स्वास्थ्योपचारलाई अन्यत्र जानुपर्ने हुँदा बैठक बस्न नसकेको राजपा नेताहरूले बताए । यद्यपि संयोजक फेरिएपछि पार्टीभित्र उत्पन्न विवाद र असहज परिस्थितिका कारण ठाकुर र झाले असहयोग गरेका कारण बैठक बस्न नसकेको महतोपक्षको दाबी छ । 

बैठकमा पार्टीको आसन्न महाधिवेशनलाई दृष्टिगत गरी सदस्यता वितरणलगायत अन्य पूर्वतयारीका बारेमा छलफल गरिनेछ ।    

 

प्रतिक्रिया दिनुहोस्