विद्रोही पार्टीसँग प्रहरीले डराउन पर्दैन : आईजीपी खनाल 



फाइल तस्बिर

काठमाडौं : नेपाल प्रहरीले संविधान मान्दिनँ भन्ने विद्रोही शक्तिसँग डराउन नपर्ने बताएको छ ।  नेपाल प्रहरीको प्रमुख आईजीपी सर्वेन्द्र खनालले नेत्रविक्रम चन्द (विप्लव) लगायतका अन्य विद्रोही शक्तितर्फ संकेत गर्दै उनीहरुसँग नडराउन आग्रह गरेका हुन् । बुटवलस्थित एक कार्यक्रममा बोल्दै आईजीपी खनालले संविधान मान्दिनँ भन्ने यस्ता विद्रोही शक्तिलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । 

 

उनले भने, 'संविधान पनि मान्दिनँ, विद्रोह गर्छु भन्ने विप्लव लगायतका पार्टीबाट कुनै सुरक्षा थ्रेट छैन । यस्ता शक्तिलाई नियन्त्रण गर्न प्रहरी पूर्ण सक्षम छ ।', बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्न दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताउँदै आईजीपी खनालले उक्त घटनाको अनुसन्धानका लागि चारवटा विज्ञ टोली खटिएको बताए । 

 

लैंगिक हिंसालगायत आपराधिक घटनामध्ये ९७.५ प्रतिशत घटनामा सफल भएको बताउँदै उनले नेपाल प्रहरी प्रहरी निर्मला पन्तलगायतका एक दुई घटनामा भने दोषीसम्म पुग्न नसकेको कारण प्रहरीलाई लिएर टिकाटिप्णी भइरहेको बताए । 

 

प्रहरी समुदायसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको भन्दै आईजीपी खनालले सर्वसाधारणाले प्रहरीमाथि विश्वास गर्नुपर्ने बताए । नागरिकले प्रहरीलाई विश्वास गर्दा प्रहरी र नागरिकबीच काम गर्न सहज हुने परिणाम छिटो प्राप्त हुने उनको भनाई छ । 

 

फरक प्रसंगमा आईजीपी खनालले लागूऔषध प्रयोगकर्ताको नियन्त्रण तथा कमी ल्याउनको लागि प्रहरी एकल प्रयासले नहुने बताँउदै उनले यसको लागि परिवार र समुदायको भूमिका महत्वपूर्ण हुने बताए । 

 

कार्यक्रममा विद्यार्थीहरुले निर्मला पन्तको काण्डमा प्रहरीले दोषीलाई कारबाही गर्न नसक्नु र निर्दोषलाई पक्राउ गर्दै यातना दिएको भन्दै प्रहरीमाथि विश्वास गर्न गाह्रो भएको बताए । उनीहरुले निर्मला पन्त हत्यामा संलग्नलाई छिटोभन्दा छिटो प्रहरीले पत्ता लगाई कारबाही गरेपछि मात्र प्रहरीमाथि रहेको अविश्वास हट्ने बताए । 

 

बुटवलको दीप बोर्डिङ स्कूलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा आईजीपी खनाल समक्ष विद्यार्थीहरुले प्रहरी समुदायमा आएर अन्तरक्रिया गर्नु सकारात्मक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्