नेकपाभित्र देखिएको विवाद छिटै समाधान हुन्छ : प्रचण्ड 



काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र देखिएको विवाद चाँडै नै अन्त्य हुने बताएका छन् । उनले पार्टीमा देखिएको विवाद समाधानका लागि एउटा कार्यदल बनाउनु पर्नेमा जोड दिए । 

 

पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले पार्टीका विविध विषयमा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले कार्यदलको धारणा अघि सारेका हुन् । 

उनले पुस अन्त्यसम्म पार्टीभित्र देखिएको सबैखाले विवाद अन्त्य गरी पार्टीलाई अघि बढाउनका लागि कार्यदल बनाएर काम गर्दा मात्र सम्भव हुने प्रचण्डले बैठकमा बताएको एक स्थायी समिति सदस्यले जानकारी दिए । 

बैठकमा सबै स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् । बुधबार अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

 

अध्यक्ष प्रचण्डले बैठकमा स्थायी समिति सदस्यहरुले राखेको धारणाका बारेमा जवाफ दिँदै अहिले देखिएको विवाद समाधान गर्न कार्यदल बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका हुन् । उनले स्थायी समितिबाटै कार्यदल गठन गर्नुपर्नेमा जोड दिएका छन् । 

 

बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र त्यसमाथि सदस्यहरुले उठाएका प्रश्नहरुको उत्तर दिने क्रममा प्रचण्डले आफ्ना विचार व्यक्त गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा स्थायी समिति सदस्यले व्यक्त गरेका धारणाको प्रशंसा गर्दै प्रचण्डले उहाँहरुको धारणा पार्टीलाई सुदृढ र शसक्त बनाउनको लागि आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्