कम्युनिस्ट र कांग्रेसले देशको मुहार फेर्न सक्दैनन् : उपेन्द्र यादव



काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त गरेका उपलब्धि रक्षा गर्ने उद्देश्यले नै पार्टी  सरकारमा गएको बताएका छन् । 

राजधानीमा आयोजित पार्टीको प्रदेश नम्बर ३ नेवाः ताम्सालिङको महाधिवेशनसम्बन्धी दुईदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा उनले उपयुक्त स्थितिमा पार्टीका माग र मुद्दा सम्बोधन गर्ने सर्तमा सरकारमा सहभागिता भएको दाबी गरे । तर, उपयुक्त समय कहिले आउने भन्नेबारे उनले खुलाएनन् । 

फोरमको नेतृत्वमा भएका आन्दोलनले नै पहिचानसहितको सघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र संस्थागत भएको बताउँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्टले यी मुद्दालाई जबरजस्ती बोक्नुपरेको दाबी गरे । उनले भने, ‘संविधानमा सघीयता संस्थागत भइसक्दा पनि सघीयतालाई समाप्त पार्ने र सघीयतालाई संरक्षण गर्ने बीचको संघर्ष अहिले पनि जारी छ ।’ 

उपप्रधानमन्त्रीसमेत रहेका यादलले आफूहरूको असहमति राज्य पुनर्संरचनामा भएको प्रस्ट पार्दै पहिचानका आधारमा राज्य पुनर्संरचना र समावेशी राज्यसत्ता आफूहरूको अभीष्ट भएको बताए । उनले संविधान संशोधन गर्न दुईतिहाइ मत आवश्यक हुने र आफूहरूको सहभागिताले दुईतिहाइ पुग्ने भएकाले सरकारमा पार्टीको सहभागिता भएको जिकिर गरे ।

कांग्रेस र कम्युनिस्टले नेपाल र नेपालीको मुहार फेर्न नसक्ने ठोकुवा गर्दै उनले मागेर खाने सरकार भएसम्म देशमा समाजवाद नआउने र देशको बेरोजगारी समस्या पनि हल गर्न नसकिने बताए । 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता कोदो र तोरीको मिश्रणजस्तै भएको बताए । उनले भने, ‘यस्तो एकताबाट न त तेल निस्किन्छ न त रोटी नै बनाएर खान मिल्छ ।’ उनले अबको वैकल्पिक राजनीतिक शाक्ति फोरम रहेको दाबी गरे । 

पार्टीका अर्का नेता सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालजस्ता वहुसांस्कृतिक मुलुकमा राष्ट्रिय एकताको मूलआधार नै पहिचानसहितको संघीयता भएको बताउँदै बहुराष्ट्रियतालाई समेट्न नसकिए समृद्धि–क्याटालोनिया, स्कटल्याण्ड र क्युबेकमा जस्तो विद्रोह हुने खतरा रहने औंल्याए ।  

प्रतिक्रिया दिनुहोस्