पत्रकारकाे व्यवहार प्रतिपक्ष जस्तो भयाे : सभामुख महरा



काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई आग्रह गरेका छन्। सभामुख महराले देश र जनताको पक्षमा दृढतापूर्वक उभिदै संसद र संसदीय गतिविधिलाई जनता माझ पुर्‍याई दिन पनि पत्रकारहरूलाई पटक–पटक आग्रह गरे। 

 

बुधबार संसदीय मामिला पत्रकार समाजको नयाँ कार्य समितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रूपमा रहेको संघीय संसदको सबै गतिविधिलाई जनतामाझ सञ्चार गराउन पनि संसदीय मामिला पत्रकार समाज सफल हुने विश्वास व्यक्त गरे। त्यस अवसरमा सभामुख महराले संघीय संसदमा जनताको प्रतिनिधिहरूलाई सार्थक छलफल गराउन आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

 

 उनले संसदको काम कारबाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराए। कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ पनि पत्रकारहरुलाई आग्रह गरे। 

 

उनले संवैधानिक व्यवस्थाअनुसार कानुनहरूको निर्माण तथा संशोधनको काम अघि बढने भएकाले त्यसमा पत्रकारहरूको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताए। अध्यक्ष तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशनमा विधिसम्मत ढंगले पर्याप्त छलफल गरेर नयाँ कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाए।

 

प्रतिक्रिया दिनुहोस्