खानामा राखेर पुग्छ हिरासतमा ब्राउनसुगर



बाँके : इस्लामुद्दिन शेष बाँके प्रहरीको हिरासतमा छन्। जयसपुरका शेष लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि प्रहरी हिरासतमा पुगेका हुन्। हिरासतमा रहेका शेषलाई हडकेसमा खाना (रोटी) पुग्थ्यो। केही दिनअघि राजाबाबु अन्सारीले हडकेसमा रोटी लिएर गएका थिए।

रोटीभित्र उनले सुपरपावर सुर्ती, गाजा र मेघाश्री राखेर लगेका थिए। प्रहरीले जाँच गर्दा त्यो फेला पर्यो। खानामा लुकाएर सूर्तीजन्य र लागूऔषध लैजाने अन्सारीलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।

शेष लागूऔषधीका कारोबारी हुन्। लागूऔषध मुद्दामै पाँच वर्ष कारागार बसेर छुटेका शेष फेरि लागूऔषधसहित पक्राउ परेका छन्।५० ग्राम लागूऔषधसहित पक्राउ परेका उपेन्द्र चौधरी आठ हप्ता जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा बसे।

चौधरीको खानामा लागूऔषध पुग्छ भन्ने ‘सुराक’ लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पायो। ब्यूरोको टोलीले जिप्रकामा यस विषयमा जानकारी गराएपछि चौधरीलाई लगिएको दुई/चार दिनको खाना सूक्ष्म जाँच भयो। केही फेला परेन।

तर, ब्यूरोले आफ्नो सुराकलाई पक्का मानेपछि चौधरीलाई बाहिरबाट खाना ल्याउन नै बन्द गरियो। अहिले चौधरी नेपालगन्ज कारागारमा पुगेका छन्। प्रहरीको हिरासत मात्रै होइन, कारागारमा पनि यो समस्या रहेको ब्यूरोको आंकलन रहेको छ।

ब्यूरोका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले कैदी/बन्दीलाई बाहिरबाट जाने खाना, फलफूलमा विशेष निगरानी गरिरहेको बताए । ब्यूरोको टोलीले कारागारमा बेलाबेलामा छड्के जाँच गर्ने गरेको छ।

नेपालगन्ज कारागार प्रशासनले केही महिनादेखि बाहिरबाट खाना लैजान प्रतिबन्ध लगाएको छ। आफन्तीहरु भेट्न जाँदा फलफूल लिएर जाने गर्दछन्। यो छुट रहेको छ। कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले खानामा नचाहिने चिजहरु राखेर पठाउने गरेको पाइएपछि बाहिरबाट खाना ल्याउन नै बन्द गरेको बताए।

‘अहिले फलफूल ल्याउँछन्। विशेष चाडबाडमा खाना आउँछ। हामीले विशेष निगरानी गर्छांै, निमित्त जेलर पौडेलले भने, शंकास्पदको बढी जाँच हुन्छ।’ नेपालगन्ज कारागारमा ७ सय ८६ जना कैदी/बन्दी छन्। त्यसमा २ सय ९१ जना लागूऔषधका छन्।

विशेष गरेर लागूऔषधका कैदी/बन्दीको खानामा लागूऔषध भित्रिन सक्ने भएकाले बाहिरबाट खाना ल्याउन नै प्रतिबन्ध लगाइएको हो। नेपालगन्ज कारागारमा ‘आफन्ती’लाई भेट्न जानेहरुले लागूऔषध बोकेर नगएका पनि होइनन्।

बाहिरी गेटको प्रहरीले जाँच गर्दा लागूऔषध बरामद गरेर कारबाही गरेका उदाहरण छन्। पछिल्लो महिनामा भने यस्तो नभेटिएको प्रहरीले बताएको छ। लागूऔषधका कारोबारीको संख्या कारागारमा बढ्दो छ।

नाकामा खटिएको ब्यूरोको टोलीले दैनिकजसो नै कोही न कोहीलाई पक्राउ गरिरहेको छ। जिल्लाका अरू प्रहरी कार्यालयबाट पक्राउ गरेर कारागारमा पठाउने संख्या पनि बढिरहेको छ।

लागूऔषधको तलतलमा रहनेहरु कारागार वा हिरासतमा पुग्दा छट्पटाउने भएकाले आफन्तहरु भेट्न जाँदा, खाना या फलफूलमा लुकाएर लागूऔषध पुर्याउने प्रयास गरेको पाइन्छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्