के हो सुगौली सन्धी ?



काठमाडौं : नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले सुगौली सन्धीको व्यापक चर्चा हुन थालेको छ । वास्तवमा सुगौली सन्धी के हो र ? यो सन्धीमा के छ ? भन्ने कुराका विषयमा यहाँ प्रकाश पार्न खोजिएको छ ।

भारतीय भूमि कब्जा गर्दै आएको बेलायती फौज र नेपाल विस्तार गरिरहेको तात्कालीन गोर्खा फौज दुवै राज्य विस्तारको क्रमसँगै एक निश्चित सीमानामा पुगे । ती दुई फौजका बीचमा रहेका ससाना भुरेटाकुरे राज्यहरुको अस्तित्व समाप्त हुन पुग्यो । यसले नेपाल र अंग्रेज फौजबीचमा सिधा युद्ध लड्नु पर्ने स्थितिको सिर्जना गरिदियो ।

अंग्रेजसँग ३२ हजार आधुनिक हतियारले सुसज्जित फौज थियो, तर नेपालसँग स्थानीय हतियारसहितका सशस्त्र र निशस्त्र गरी जम्मा १२ हजार फौज थियो । दुवै फौजका बीचमा युद्ध घोषणा गरियो । भनिन्छ, त्यति बेला चारवटा स्थानमा मुख्य युद्ध मोर्चाहरु खोलिएका थिए । तीमध्ये तीनवटामा नेपालको बलियो पकड थियो भने सुदूरपश्चिमको मोर्चा केही कमजोर बन्दै गयो ।

अंग्रेज फौज ती चारवटै मोर्चा लड्नभन्दा तीन ठाउँमा रक्षात्मक र पश्चिम एक ठाउँमा आक्रामक भएर अघि बढ्यो । नेपाली फौज वीरतापूर्वक लडेपनि टिक्न गाह्रो थियो । बलभद्र कँवरले नालापानी किल्ला छाड्नु पर्यो । अर्को किल्लामा भक्ति थापाले सहादत प्राप्त गरे । अमरसिंह थापा अन्तिमसम्म लडे पनि किल्ला छाडेर हिंड्नु पर्यो ।

यसले नेपाललार्ई नितान्त रक्षात्मक अवस्थामा पुर्यायो । प्रधानमन्त्री भीमसेन थापाले अंग्रेजसँग लड्ने बचनवद्धता कायमै राखे पनि मोर्चामा खटिएका फौजको हालत खराब हुँदै गयो । तर अंग्रेजहरुको तर्फ जनरल जिलेस्पीसहितका विश्व विजेता कमाण्डरहरु नेपाली फौजको सामना गर्दा ढलेपछि अंग्रेज पनि निकै धरमराएका थिए । नेपालतर्फ उनीहरुले आँखा उठाएर हेर्न गाह्रो पर्दै गएको थियो ।

अंग्रेजहरु पनि सम्झौता गर्न पाए हुने थियो भन्ने मनसाय व्यक्त गरिरहेका थिए । यो कुटनीतिक मात्र नभएर यथार्थ पनि थियो, उनीहरुका लागि । यसै बखत नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भारतको सुगौली भन्ने ठाउँमा दुवै पक्षबीच सन्धि भयो । यो नै अहिले ‘सुगौली सन्धि’ का नामले प्रशिद्ध छ । यो सन्धि गर्दा नेपालले एकीकरण गरेको ठूलो भू–भाग अंग्रेजलाई फिर्ता गर्नुपरेको थियो । फाइदा यत्ति मात्र थियो कि यो सन्धिपछि नेपाल–अंग्रेज युद्ध विधिवत् समाप्त हुन गएको थियो । उक्त सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भए पनि यसलाई ४ मार्च १८१६ मा मात्र दुवै पक्षबाट विधिवत स्वीकार गरिएको थियो । सन्धिमा हस्ताक्षरकर्ताहरुमा नेपाली पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षबाट लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए ।

सन्धिअनुसार नेपालले युद्धमा जितेको भूमि फिर्ता गरी पूर्वमा मेची र पश्चिममा महाकाली नदी सिमाना कायम गरियो । हाल भारतले वर्षौदेखि अतिक्रमण गरी आफ्नो सीमाभित्र पारेको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमै रहन गयो । महाकालीपारिका चाँदनी र दोधारा पनि नेपालमै रहे ।

सन्धिमा ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ना गरिने र नेपालले अमेरिकी अथवा युरोपीय कर्मचारीलाई राख्न नपाउने सर्त मनाइयो । सुगौली सन्धिअघि फ्रान्सेली सेनाहरुले नेपाली सेनालाई तालिम दिने गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्