मन्त्री बन्नेहरुको होड चलेपछि प्रचण्डलाई सकस, बिहान बस्ने भनिएको शीर्षहरुको बैठक स्थगित



काठमाडौं : मन्त्रीमण्डल पुनर्गठन र पार्टी कामलाई थप व्यवस्थित बनाउन आवश्यक निर्णय लिनेगरी आज (शुक्रबार) बिहान बस्ने तयारी भएको सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुको बैठक अन्तिममा आएर रोकिन पुगेको छ । बैठक रोकिएपनि आज बेलुका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यि सबै विषयलाई अन्तिम निष्कर्षमा पुर्याउने गरी बैठक बस्ने प्रचण्ड निकट स्रोतले बताएको छ । दुई अध्यक्षबीच टुंगो लागेपछि सचिवालयको बैठक बोलाउने तयारी गरिएको छ ।

बालुवाटार स्रोतका अनुसार पार्टी कामलाई थप व्यवस्थित बनाउन लिनुपर्ने आवश्यक निर्णयका विषयमा थप गृहकार्य गर्नुपर्ने र मन्त्रीमण्डल पुनर्गठनका विषयमा पार्टी अध्यक्ष प्रचण्डले पूर्व माओवादीका नेताहरुसँग थप सरसल्लाह गर्नुपर्ने भएपछि उक्त बैठक स्थगन हुन पुगेको हो ।

मन्त्रीमण्डल हेरफेर गरी सरकारको कामकारवाहीलाई जनताका माझमा अनुभूत हुने गरी गतिदिन आतुर रहेका प्रधानमन्त्री ओलीलाई सत्तारुढ पार्टीका अर्का अध्यक्ष प्रचण्डले निर्णय लिन ढिलाई गर्दा केही दिन पर्खनुपर्ने भएको छ । पूर्वमाओवादीको भागमा परेका मन्त्रीहरुको हेरफेरको कुरा आएसँगै मन्त्री हुन चाहने प्रत्यासीहरु तँछाडमछाड गर्न थालेपछि प्रचण्ड अनिर्णयको बन्दी बन्न पुगेका हुन् ।

मन्त्रिपरिषदमा ठूलै हेरफेर गर्ने तयारीमा जुटेका प्रधानमन्त्री ओली नयाँ मन्त्रीहरूको सूची तयार गरिरहेका बेला प्रचण्डले गरेका ढिलाइका कारण अप्ठेरोमा परेका छन् । मन्त्रीमण्डल हेरफेरसँगै सरकारको कामलाई गतिदिई परिणाममुखी बनाउने सोच बनाएका प्रधानमन्त्री ओलीले निकास सहज र सौहाद्र्र होस् भन्ने हेतुले गरिन लागेको हेरफेरमा पुराना र नयाँ दुवैलाई मिसाएर लैजाने वा सबै नयाँ बनाउने भन्ने विकल्प पनि खुल्लै राखिदिएका छन् ।

राम्रो काम गरिरहेका बहालवाला पनि नछुटून् भन्नेमा प्रधानमन्त्री ओलीले गहिरो हेक्का रहेको देखिन्छ । मन्त्रीमण्डल हेरफेरको उद्देश्य नै राम्रो काम गर्ने र कामलाई गति दिने भएकाले बहालवालाहरुबाट पनि राम्रालाई निरन्तरता दिने र अन्यमा नयाँ ल्याउने बढी न्यायिक हुने गृहकार्यमा प्रधानमन्त्री ओलीको जोड रहेको देखिन्छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच ९–१० जना मन्त्रीहरु त हटाउनै पर्ने छलफल भएको खुलेको छ । ९–१० जना बाहेक अरुहरुका बारेमा पनि छलफल गरी तिनीहरुलाई ‘ठीकठीकै’ मूल्यांकन गरी उनीहरुले नै निरन्तरता पाएमा काम गर्न बाटो देखाउने र प्रोत्साहित गर्ने सल्लाह भएको पनि बुझिएको छ । हेरफेरका लागि मोटामोटी सूची तयार भए पनि आन्तरिक शक्ति सन्तुलनका आधारमा चयन गर्नुपर्ने बाध्यता प्रधानमन्त्री सामु छ ।

दुई तिहाई बहुमतको सरकार बनेको करिब १ वर्ष ९ महिनापछि गरिन लागेको हेरफेर बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणका कारण पनि केहीपछि सारिएको थियो । हेरफेर केही पछाडी सारिनुमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने वा रहने भन्ने निर्णय गरिनसक्नुले पनि काम गरेको छ ।

अर्कोतर्फ प्रधानमन्त्री थप स्वास्थ्योपचारका लागि विदेश प्रस्थान गर्नुअघि मन्त्रीमण्डल पुनर्गठन काम सिध्याइसक्नु पर्ने भएको छ । हटाउन खोजिएकाहरुको घुर्की, नयाँ प्रत्यासीहरुको लर्को, मालदार मन्त्रालय लिनका लागि हारालुछ देखिएको छ । पूर्व माओवादीबाट सभामुख नपाउने भएमा अग्नि सापकोटासहित कम्तीमा आधा दर्जनले मन्त्री हुन दौडधुप गरिरहेका छन् । सापकोटासहित मन्त्री हुने लाइनमा जनार्दन शर्मा, लेखराज भट्ट, प्रभु साह, पम्फा भुषाल, देवेन्द्र पौडेल, रामेश्वर राय यादवलगायत रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्