समाजवादी पार्टीले प्रधानमन्त्रीलाई अल्टिमेटम दिने, यस्तो छ तयारी



काठमाडौं : सत्तासाझेदार दल समाजवादी पार्टी संघीय सरकारमै बस्ने की छोडने भन्ने निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बसेको छ । बैठकले सरकारसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरणको विषयमा पनि टुंगो लगाउने छ ।

सरकारका विषयमा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरहरुले सरकार तत्काल छाड्नु पर्ने बताउदै आएका छन् भने केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव पक्षधरहरुले सरकार तत्काल छाडिहाल्ने पक्षमा छैनन् । यस्तो परिदृश्यमा बैठकले मध्यमार्गी निर्णय गर्नसक्ने एक नेताले बताए । बैठकले पार्टी सत्तामा जाँदा गरेको सम्झौता कार्यान्वयानका लागि अल्टिमेटम दिने गरी निर्णय गर्ने ति नेताले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधनसहित विगतको सहमती कार्यान्वनयका लागि केही दिनको अल्टिमेटम दिने र माग सम्बोधन नभए सरकार छोड्ने निर्णय बैठकले गर्ने यादव पक्षका एक नेताले बताए ।

आज र भोली दुई दिनसम्म चल्ने बैठकबाट पार्टी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बस्ने कि छोड्ने भन्ने निर्णय गर्ने समाजवादी पार्टीका महासचिव रामसहाय यादवले बताए ।

तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीका बीचमा एकीकरण हुनु अघि नयाँ शक्तिका संयोजक तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईले सरकार छोडनुपर्ने सर्त अघि सारेका थिए ।

तर उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष यादवले सरकार छोड्ने पक्षमा देखिएका छैनन् । सरकारमै बस्ने र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग भएको दुई बुँदे सहमती अनुसार संविधान संशोधनलाई अघि बढाउन दवाव दिइरहने रणनीतिमा यादवको छ ।

हिजो (बिहीबार) सम्पन्न समाजवादीको संघीय परिषद बैठकमा ‘समाजवादी पार्टी निर्माण र अगामी कार्यभार’ विषयमा राजनीतिक प्रतिबेदन प्रस्तुत गर्दै डा.भट्टराईले सरकार छोड्ने कि नछोड्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटी बैठकले गर्ने उल्लेख गरेका छन् ।

सरकारमा रहने कि नरहने जिम्मा पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई जिम्मा दिँदै उनले सरकारको नेतृत्व गरिरहेको नेकपाले संविधान संशोधनमा चासो नदिएको आरोप लगाउँदै सत्ता सञ्चालनको मर्यादा पनि नेकपाले ख्याल नगरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्