नेकपा नेताहरु बिरुद्ध दिगम्बर झा अदालत जाने !



काठमाडौं: नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेकपा नेताहरुले आफ्नो मानहानी गरेको आरोप लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भ्रष्ट भनेर मानहानी गरेको भन्दै अध्यक्ष झाले  अदालत जानसक्ने चेतावनी दिए ।

 

रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा झाले नेकपाका नेताहरुले भ्रष्ट भनेर गरेको टिप्पणीले आफ्नो चरित्र हत्या भएको भन्दै अदालत जानसक्ने बताएका हुन् ।  ‘मेरो प्रतिष्ठामा आँच आयो । चरित्र हत्या भयो। मेरो मानहानी भयो । यसको लागि म भोलि अदालत गएर न्याय माग्न सक्छु ।’ झाले भने, ‘राम्रो काम गर्नेको यो देशमा कहिल्यै पनि भलो हुँदैन।’

 

नेकपाको स्थायी समिति बैठकमा समेत नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएको टिप्पणी गर्दै उनले यसले आफू मर्माहत बनाएको उनले बताए । नेकपाका ४३ जना केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विवादित अध्यक्ष झालाई प्राधिकरणबाट हटाउन माग गरेका थिए । सो विषयमा नेकपाको जारी स्थायी कमिटीका बैठकमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्