मुख्य बजारमा टेलिकमको फोरजी सेवा शुरु



डोटी : नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो ।

टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताए । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । अन्य इन्टरनेटभन्दा फोरजी सेवा अर्थात् फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

सो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकमका प्राविधिक इन्द्रबहादुर कठायतले बताए । त्यस्तै टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा समेत आफ्नो फोरजी सेवा विस्तारको तयारी गरिरहेको छ । सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडानको कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका निमित्त प्रमुख प्रकाश चौधरीले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्