कांग्रेसले उठाएको धार्मिक एजेन्डामा सचेत हुनुहाेस् : अध्यक्ष प्रचण्ड



काठमाडौं : संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका आधारभूत विषयमा प्रश्न उठेको कुराबाट सबै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताएका छन्। 

 

 संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार सुरु भएको संघीय संसदको संयुक्त अधिवेशनमा अध्यक्ष प्रचण्डले समझदारीको इतिहास कायम गरेका राजनीतिक दलहरूले संविधान कार्यान्वयनमा सबैको साझा जिम्मेवारी रहेको बताए। 

 

‘हामी आफैले बनाएको संविधान, संविधानसभाबाट निर्माण गरेको संविधान, हातेमालो र विभिन्न अप्ठेरासँग जुधेर निर्माण गरेको संविधानमाथि केही प्रश्न उठ्ने गरेका छन्’, उनले भने, 'हामी जसले यो ऐतिहासिक प्रक्रियामा सहयात्रा गर्‍यौँ, हामीले आफ्नै मौलिकतामा विकसित भएको शान्ति, संविधानमा हामी सबैको साझा जिम्मेवारी छ भन्न चाहान्छु।‘ अध्यक्ष प्रचण्डले संविधानका आधारभूत विषयका बारेमा फेरि प्रश्न पैदा हुन थालेको देखेर नै आफूले यो कुरा राख्नुपरेको बताए।

 उनले भने, ‘हाम्रो आफ्नै मौलिकतामा तयार भएको शान्ति प्रक्रिया र सरकार निर्माणमा हामी सबैको साझा जिम्मेवारी हो भन्ने लाग्छ।‘ प्रमुख प्रतिपक्षी दलका महामन्त्री शशांक कोइरालाले विगत केही समययता नेपाललाई हिन्दुराष्ट्र बनाउने कुरा  उठाएको र कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा उक्त विषयको समर्थनमा हस्ताक्षर नै संकलन भएपछि प्रचण्डले यो विषयलाई संसदमा उठाएका हुन्। कोइराको उक्त मुद्दालाई प्रचण्डले यसअघि पनि आलोचना गरेका थिए।

 

 संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्षताविरुद्ध कांग्रेसले आवाज उठाउन खोजेपछि प्रचण्डले उक्त विषयलाई संसदमा नै उठाएका हुन्। प्रचण्डले नेपालमा भएका पछिल्ला राजनीतिक परिघटनामा सत्ता र प्रतिपक्षको समझदारीबाट उपलब्ध भएको भन्दै अहिले संघीयता शिशु अवस्थामा रहेकाले यसको स्याहारमा लाग्नुपर्ने धारणा राखे। उनले भने, ‘यी परिवर्तन शिशु अवस्थामा छन्। यिनीहरूलाई जन्माउनेले राम्रो स्याहार गरिएन भने अप्ठेरो स्थिति आउन सक्छ। 

 

यसका लागि प्रतिपक्षलाई पनि अपिल गर्न चाहान्छु। संविधान सफल बनाउने जिम्मेवारी सत्तापक्षको मात्रै होइन।‘ अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा सरकार र संसदलाई सामान्य अवस्थाका रूपमा मात्रै ठान्न नहुने बताए। उनले अझै पनि राष्ट्र निर्माण र समझदारीको सम्बन्धलाई बुझ्न सक्नुपर्ने बताए। 

 

प्रतिक्रिया दिनुहोस्