हुण्डी कारोबार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ



वीरगन्ज : हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई सात लाख भन्दा बढी रकमसहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा भारत पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल थाना मौजे बस्ने २० वर्षीय युवक द्वय सोनु कुमार र अंकित कुमारलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताए ।

उनीहरूको साथबाट श्रोत खुलाउन नसकेको नेपाली रुपैयाँ ७ लाख ४९ हजार ५ सय र २ थान मोबाइल बरामद भएको छ । सिमावती सहर रक्सौलबाट बिआर ०५ एबि ६३०२ नम्बरको भारतीय मोटरसाइकलमा सवार वीरगन्ज भित्रिएका दुवै जनालाई विशेष सूचनाको आधारमा बाइपास रोडबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

पक्राउ परेका दुवैजनासंग फेला परेको रकमको श्रोत खुलाएको छैन। प्रहरी नायव उपरीक्षक थापाले भने, ‘जिल्ला अदालत पर्साबाट बैङ्क तथा वित्तीय कारोबार सम्बन्धी ऐन अन्तर्गत दुवै जनामाथि हुण्डी मुद्दा दर्ता गरी म्याद थप गराई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्