मर्दी खोला खानेपानी आयोजना समयमै सक्न मन्त्री मगरको निर्देशन



काठमाडौं : खानेपानी मन्त्री विना मगरले पोखरास्थित मर्दीखोलन खानेपानी आयोजनाको काम समयमा नै सम्पन्न गर्न निर्देशन दिएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको काम समयमा नै सम्पन्न नभए पनि मर्दी खोला खानेपानी आयोजनाको काम आगामी ३ वर्षभित्र नै सम्पन्न गर्ने गरी काम दु्रत गतिमा अगाडि बढाउन आयोजनालाई निर्देशन दिइएकी हुन् ।

नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी पिउनयोग्य बनाउने उद्देश्यले जापान सरकारको सहयोगमा आयोजनाको काम अघि बढाएको थियो । आयोजनाको काम सुरु भएको पाँच महिना पूरा भएको छ । गत जेठ महिनामा खानेपानी मन्त्री मगरले उक्त आयोजनाको शिलान्यास गरेकी थिइन् ।

“यो आयोजनाको काम तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,” उनले भनिन्, “आयोजनालाई पनि काममा ढिलाई नगर्न निर्देशन दिएका छौं, आयोजना सम्पन्न भएपछि गुणस्तरिय खानेपानीको उपलब्धता हुने छ ।”

मन्त्रालयको मेलम्ची आयोजना पछिको यो दोस्रो ठूलो आयोजना हो । आयोजनाको काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई चार अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो । जापानले दिएको कुल अनुदान रकममध्ये चार अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाज्मा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाज्मा कम्पनीसँग संस्थानले गत २४ फागुनमा सम्झौता गरेको थियो । हाज्मा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

संस्थानका अध्यक्ष जिउलाल चौधरीले खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको र यस आयोजनाबाट अधिकांश पोखरेलीबासीले प्रत्यक्ष लाभ पाउने बताए । आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्र करिब ३ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष चौधरीको भनाई छ । यो पाँच महिनाको अवधिमा उल्लेख्य भौतिक प्रगति भएको संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले दाबी गरेका छन् ।

जापानले दिएको अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट, रिजर्भवायर ट्यांकी निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. प्रसादको भनाइ छ । दैनिक ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने गरी ट्रिटमेन्ट प्लान्टको काम रफ्तारमा अघि बढेको महाप्रबन्धक प्रसादले बताए ।

त्यस्तै, खानेपानी भण्डारण गर्न २०–२० लाख लिटरको तीनवटा रिजर्भवायर पानी ट्यांकीको निर्माण कार्य पनि धमाधम भइरहेको छ । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माणको काम भइरहेको संस्थानका पोखरा शाखा प्रमुख आशिष कार्कीले जानकारी दिए ।

शुद्धीकरणको पहिलो प्रक्रिया मर्दी मुहानमै हुनेछ भने ९ सय ३० घनमिटरका २ वटा प्लान्ट निर्माण गरी पुरन्चौर तुल्सीतारा घाटमा सफा पानी संकलन हुनेछ । पस्र्याङ, फूलबारी, कोलपाटनमा निर्माण भइरहेको ट्यांकीमार्फत पोखरामा पानी वितरण हुनेछ, त्यसका लागि १ सय १३ किलोमिटर पाइपलाइन बिछ्याइने छ । सन् २००४ मै यसको सम्भाव्यता अध्ययन भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रगति ढकालले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्