प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भयो : प्रभु साह



कलैया : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ को आर्थिक समृद्धिको योजना कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका छन् ।

नेकपा बाराका नेता अभिमन्यूबहादुर क्षेत्रीको १३ औं पुन्य तिथिको अवसरमा हिजो (शुक्रबार) जितपुर सिमरा उपमहानगरपालिकाको फतेपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका नेता साहले अहिलेको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेकाले प्रदेशको समृद्धि असम्भव भएको बताए ।

राजनीति राष्ट्र र समाजको सेवाका लागि हुनुपर्ने बताउँदै उनले केही व्यक्तिले राजनीतिको नाममा व्यापारीकरण गरी दुसित बनाएको बताए । समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्नेमा जोड दिँदै साहले नाफा कमाउनेले व्यापार गर्नुपर्ने सुझाव दिए ।

अभिमन्यूबहादुर क्षेत्री कम्युनिष्ट पार्टी र समाजको एक सच्चा समाजसेवी रहेकाले उनको निधनले पार्टी, समाज, राष्ट्रका साथै परिवारलाई ठुलो क्षति पुगेको बताए । समाज सेवालाई निरन्तर्ता दिएका अभिमन्यूबहादुर क्षेत्रीको योगदान उच्च रहेको उनले बताए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं बारा इन्चार्ज बलबिर चौधरी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज ज्वालाकुमारी साह, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, प्रदेश २ सभा सदस्य कुन्दन कुशवाहा, महमद समिर, मुकेश साह, उमेश कुशवाहा, अमर साह , रबि दंगाल, लालकिरण, गिता कडेल, देवनारायण चौधरी, कृष्ण खनाल, प्रेम बराल, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्