बझाङ र बैतडीमा पिपिआर रोगको प्रकोप, दुई सय बढी भेडाबाख्रा मरे



बझाङ : बझाङ र बैतडीमा पिपिआर रोग फेला परेको छ । बाख्रा र भेडाका देखिने यो रोग केही समय अघि मात्रै फेला परेको हो । यस रोगका कारण बझाङमा ९५ र बैतडीमा ८६ वटा भेडा बढी भेडाबाख्रा मरेको पाइएको छ ।

 

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पिपिआर रोग पत्ता लागेको हो । यो रोग बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बढी देखा परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यालय प्रमुख बाल्मीकीप्रसाद जोशीले बताए । जोशीअनुसार माधवीर रोकाया, राम बहादुर जेठारा, वीरबहादुर बोहरा, कृष्ण बोहरा र नवराज बोहराले पाली राखेका ९५ भेडाहरु मरेका हुन्  । 

 

यो रोग बझाङ र बैतडीको सिमाना बढी देखा परेको जोशीले बताउनु भयो । यस्तै यस रोगका कारण बैतडीको सिगास गाँउपालीकामा ८५ भन्दा बढी भेडा बाख्रा मरी सकेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशुस्वास्थ्य प्राविधिक विसनसिंह विष्टले बताए । 

विष्टअनुसार रोग नियन्त्रणका लागि पिपिआर विरुद्धको भ्याक्सिन खरिद गरि मंगलबारबाट जिल्लाभर भ्याक्सिन लगाउने काम भइरहको छ । बैतडीका लागि २० हजार डोज भ्याक्सिन मगाइएको छ । जसमा १० हजार डोज बैतडीका लागि र १० हजार डोज दार्चुलाका लागि प्रयोग गरिने विष्टले बताए । दार्चुलामा यो रोग देखा नपरेको भए पनि पूर्व तयारीका लागि भेडाबाख्रामा भ्याक्सिन लगाइने विष्टको भनाई छ । 

 

यस्तै यता बझाङ जिल्लाका लागि समेत १० हजार डोज भ्याक्सिन भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङले खरिद गरी सकेको निमित्त कार्यालय प्रमुख वाल्मीकी प्रसाद जोशीले बताए ।

 

साइपाल गाँउपालिकामा बढी रोग देखा परेकाले यसको रोगथामका लागि ८ हजार डोज भ्याक्सिन दिएर बुधबार ६ जनाको टोलीसहित साइपाल गाउँपालिकामा पठाइएको जोशीले बताए । यस्तै जिल्लाको तमैल बजार, डोड्याका खेतकासमेत एक–एक टोली ६–६ सय भ्याक्सिनको डोजसहित परिचालन गरिएको छ । यो एउटा भाईरस भएका कारण एकै समयमा धेरै चौपायामा तथा भेडाबाख्रा रोग देखा पर्न सक्ने पशु स्वास्थ्य प्राविधिकहरु बताउँछन् । 

 

यो रोगले संक्रमण गरिसकेपछि उपचार गर्नुभन्दा पूर्व तयारी गरी भेडाबाख्रा तथा पशु चौपायामा भ्याक्सिन लगाउन आवश्यक रहेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यालय प्रमुख बाल्मीकीप्रसाद जोशी.ले बताए । यसको लक्षण पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडाहरु मर्ने, भेडा बाख्रामा ज्वरो आउने, नाकबाट सिगान बग्ने, आँसु फाल्ने गर्दछन् ।

 

 यो लक्षण देखा परेको भेडाबाख्रा २४ घण्टा र केही भेडा बाख्रा ४८ घण्टाभित्र मर्ने बढी सम्भावन हुने भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख जोशीले बताए । 

 

यस्ता लक्षण बाख्रा र भेडामा देखा परे भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा जानकारी गर्नसमेत जोशीले सम्पुर्ण किसानहरुलाई अनुरोध गरेका छन् । साइपाल गाउँपालिकामा मात्रै १९ हजारभन्दा बढी भेडाबाख्रा रहेका छन् । जोशीले भेडाबाख्रा हिड्ने बाटाका छेउछाउका बाख्राहरुमा भ्याक्सिन लगाइने जनाए । 

 

प्रतिक्रिया दिनुहोस्