नेपाली सेनाले नक्साको खोजी गर्दा भारतले विवादित नक्सा सार्वजनिक गरेको खुलासा



काठमाडौं : नेपाली सेनाले निर्देशनालय निर्माण गरेर सुगौली सन्धिको सक्कली प्रतिलिपी र तात्कालीन नक्साको जोडजाम गरिरहेका बेला भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी र पूर्वमा पशुपति नगरसम्म मिचिएका सीमा क्षेत्रहरु आफ्नो सीमाभित्र पारेर विवादित नक्सा सार्वजनिक गरेको छ ।

नेपाली सेनाको उच्च स्रोतअनुसार निर्देशनालय अन्तरगत सेनाले पछिल्लो सात महिनादेखि नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको आधिकारिक प्रति तथा तात्कालीन नक्साको खोजी गरिहेको छ । सुगौली सन्धीसँग सम्बन्धित दस्तावेजहरुको खोजीसहित उक्त विषयका जानकारहरुसँग सहयोग र विमर्शमा सेना जुटिरहेको छ । हालसम्म फेला परेका दस्तावेजमा सबैभन्दा आधिकारिक र मूल प्रमाण सुगौली सन्धि आफै हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णय गराई गत चैतमा सेनालाई पत्र पठाएपछि रक्षा मन्त्रालयको निर्देशनअनुसार सेनाले नयाँ निर्देशनालय स्थापना गरी उक्त खोज कार्यलाई अघि बढाएको हो । हाल यो निर्देशनालय प्रधान सेनापतिको सचिवालय अन्तर्गत रहने गरी २०७६ बैशाखमा ‘सर्वे तथा सीमा अनुगमन निर्देशनालय’ का रुपमा स्थापना भैसकेको छ ।

हाल निर्देशनालय अन्तर्गत प्राविधिक विज्ञ सहितको सीमा अनुगमन समन्वय महाशाखा, सर्वे महाशाखा, सन्धि तथा सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा र बन्दोबस्ती महाशाखा रहेका छन् । जिम्मेवारीका हिसाबले एकजना सहायक रथीको नेतृत्वमा चारजना महासेनानी रहने व्यवस्था रहेको छ ।

नेपाली सेनाको मुख्यालयमा यही बैशाख महिनानमा निर्देशनालय स्थापना भएको र यसले सन्धि–सम्झौता अनुरुपका दस्तावेजहरुको अध्ययन, अनुसन्धान, संकलन र सर्वेक्षण थालेपछि भारतले विवादित नयाँ नक्सा सार्वजनिक गरी यस्तो स्थितिको सिर्जना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्