मण्डपमै बेहुली कुटपिट गर्ने पक्राउ



तेह्रथुम : तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । 

फेदाप गाउँपालिका–३ जलजलेमा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदीप लिम्बू, मन्दिप लिम्बू, पूर्ण लिम्बू, नवीन लिम्बू, खगेन्द्र लिम्बू, सुजन लिम्बू र सनम लिम्बू रहेका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।  

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाहुना आएका केटीसँग धान नाच्न स्थानीय युवाले अनुरोध गरेका र नमान्दा तानातान हुँदा आवेशमा आएर घटना भएको पक्राउ परेका युवाले बताएको प्रहरीले जनाएको छ । 

कुटपिटबाट २२ वर्षीया बेहुली प्रीति सम्बाहाम्फे गम्भीर घाइते छिन् । वैवाहिक समारोह भइरहेका बेला समूहमा आएका युवाले विवाह मण्डपमै बेहुली माथि आक्रमण गरेका थिए । 

गम्भीर घाइते बेहुलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बेहुली सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीका २२ वर्षीय सचिन आङ्देम्बेसँग विवाह भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्