आधारातमा ठमेलको नाइट क्लबमा भेटिएका बिमलसहित राष्ट्रिय टोलीका ४ खेलाडी बर्खास्त



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । विश्वकप २०२२ को छनोटमा कुवेतस‌ँग खेल्ने टिममा रहेका स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई एन्फाले बर्खास्त गरेको हो ।

एन्फाका प्रवक्ता किरण राईले विमल, अञ्जनसहित चार खेलाडीलाई बर्खास्त गरिएको पुष्टि गरे। प्रवक्ता राईले चारै जनाले अनुशासनहीन काम गरेको भन्दै व्यवस्थापकले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि हटाइएको जानकारी दिए।

यी चारै खेलाडी शुक्रबार राति ठमेलका विभिन्न नाइट क्लबहरुमा गएको एन्फाको आरोप छ। ‘अहिलेलाई भुटान जाने टिमबाट ड्रप गरिएको छ, पछि के गर्ने भन्नेबारे हामी थप छलफल गर्छौँ’, प्रवक्ता राईले भने। उनले यी चार जनाको ठाउँमा खेल्ने अन्य खेलाडीहरुको छनौट भइनसकेको जानकारी दिए।

शुक्रबार राति ठमेलस्थित लाउन्च वारमा भेटिएका उनीहरुले अनुशासनहीन काम गरेका कारण राष्ट्रिय टीमबाट बर्खास्त गरिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्