ओलीले नेकपाका ४३ नेतालाई कुखुराका चल्ला भनेपछि..



काठमाडौं : नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई कुखुराको चल्लाको संज्ञा दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको संज्ञा दिएका हुन् ।

 

‘एउटा चल्लोले भुइँमा ठुगेपछि सबै चल्ला उसको पछि दौडिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दिगम्बर झाको केसमा मेरो मुखमा चारो पर्नु न नपर्नु, सबै चल्ला मेरो पछाडि कुदेर हैरान खेलाए। चल्ला मेरो अघिपछि लागेको लाग्यै गरे।’

 

ओलीले सर्वोच्च अदालतमा दायर भएको रिट फिर्ता गरेर फेरि आवेदन दिएपछि उनलाई नियुक्त गरेको प्रष्ट पारे। ‘रिट फिर्ता गरेर ब्याक भएका झाले फेरि भ्रष्टाचार नगर्लान भन्ने ठानेर नियुक्त गरिएको हो’, ओलीले स्पष्टिकरण शैलीमा भने, ‘तर, आजै उहाँले राजीनामा दिएको जानकारी यहाँहरुलाई गराउन चाहन्छु।’

 

नेकपा नेताहरुले भने विवादमा मुछिएका व्यक्तिलाई फेरि नियुक्ति गर्दा गलत सन्देश गएको भन्दै हस्ताक्षर बुझाएको दाबी गरेका छन्।   ‘बदनाम मान्छेलाई नराख्नु भनेर हामीले दबाब दिएका थियौँ’, बैठकपछि नेकपा नेतृ रामकुमारी झाँक्रीले भनिन्, ‘त्यसको सुनुवाइ सरकारले गरेको छ। अब सरकारले सही बाटो समाएको महसुस हामीले गरेका छौँ।’ 

 

बैठकमा ओलीले राजनीतिक आन्दोलन सफल हुने तर उपलब्धि संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।  ‘२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धिको संरक्षण भएन। २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धि संस्थागत भएन’, प्रधानमन्त्री ओलीले भने, ‘२०६२/०६३ को जनआन्दोलनका उपलब्धिलाई  पनि संस्थागत हुन नदिने र सफल हुन नदिने मनशाय बोकेका केही मानिस छन्। तिनको मनशाय पूरा हुन दिनु हुँदैन।’

 

ओलीले सांसदलाई सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशनसमेत दिए। ‘सरकारले राम्रो काम गरिरहेको छ। विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस’, ओलीले भने,  ‘मन्त्रीले पनि माननीयलाई मन्त्रालयले गरेका राम्रा कामको जानकारी दिनुहोस्।’

प्रतिक्रिया दिनुहोस्