स्थानीय सरकारमा गुनासो गर्न पनि दस्तुर



ललितपुर : सरकारी कार्यालयमा कुनै गुनासो गर्दा वा सुझाव दिँदा पैसा तिनुपर्छ भन्दा तपाईँलाई अचम्म लाग्ला तर, सुन्दै अचम्म लाग्ने यस्तै नियम स्थानीय तहमा लागु गरिएको छ । 

यो नियम टाढाको पनि होइन, उपत्यकाभित्रकै ललितपुरको गोदावरी नगरपालिकाको हो । यहाँ सेवाग्राहीले कार्यालयको कामकाज वा आफ्नो असुविधाको बारेमा कुनै लिखित गुनासो गर्दा वा सुझाव दिँदा पनि पाँच सय तिर्नुपर्छ, नतिरे गुनासो र सुझाव दर्ता नै हुँदैन ।  

नगरपालिकाको बडापत्रमा पाँच सय शुल्क लाग्ने भनेर टाँसिएको छ । बडापत्रमा खुलस्त लेखिएको छ, ‘साधारण गुनासोवापत दस्तुर रु पाँच सय ।’ अझ गुनासोका लागि नागरिकताको प्रतिलिपि र विषयसँग सम्बन्धित अन्य कागजात पनि चाहिने उल्लेख छ । 

बडापत्रमै ठूलो अक्षरमा गुनासो गरेको शुल्क पाँच सय लाग्ने भनेर लेखिएको देखेपछि धेरैजना अचम्ममा पर्ने गरेका छन् । मंगलबार दिउँसो गोदावरी नगरपालिका–१० टाखेलका राजेश घिमिरेले एउटा गुनासो लेखेर कार्यालयमा बुझाउन खोज्दा कार्यालयका कर्मचारीले पाँच सय शुल्क लाग्छ भनेपछि छक्क परेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्