समायोजन रोज्न कर्मचारीलाई आह्वान



काठमाडौं : सरकारले बुधबारबाट संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया सुरु गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुसार तीन तहमा समायोजनमा जान आवेदन दिन आह्वान गरेको हो । 

मन्त्रालयले विभिन्न चार प्रकारका सूचना जारी गरी समायोजनका लागि कर्मचारीलाई फाराम भर्न आह्वान गरेको छ । सरकारी सेवाका कर्मचारी र अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्त भएका, तर नयाँ संगठन संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि २१ दिनसम्म आवेदन दिन आह्वान गरेको छ ।

यस्तै, प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठानलगायत संस्थाका स्थायी कर्मचारी र साबिक जिल्ला विकास समितिका स्थायी कर्मचारीका लागि १५ दिनसम्म आवेदन फाराम भर्न आह्वान गरेको छ । 

मन्त्रालयले अध्यादेशमा भएका व्यवस्था र आवेदनले माग गरेअनुसार समायोजनमा जाने कर्मचारीको नजिता प्रकाशित गर्नेसमेत जनाएको छ । यसअघि स्थानीय निकायमा स्थायी भएका कर्मचारीको स्थानीय तहमा समायोजन गरिसकेको मन्त्रालयले जनाएको छ । 

तीन तहमा १ लाख ३८ हजार १ सय ७८ कर्मचारी दरबन्दी 

सरकारले यसअघि प्रस्ताव गरेको कर्मचारी दरबन्दी वृद्धि गरेको छ । सोमबारको मन्त्रिपरिषद्ले संघ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३८ हजार १ सय ७८ कर्मचारी दरबन्दी स्वीकृत गरेको हो । त्यसमध्ये संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी रहनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही दरबन्दीका आधारमा कर्मचारी समायोजन गर्ने भन्दै बुधबार सूचना प्रकाशित गरेको हो । मन्त्रालयले समायोजनसम्बन्धी आवेदन दिन आह्वान गर्दै चारवटा सूचना प्रकाशित गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्