नेकपामा आक्रोश, प्रतिरक्षा र मध्यमार्गी लाइन



काठमाडौं : झन्डै दुई हप्तादेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार सकिँदै छ । बिहीबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बैठक सकिनेछ ।  

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बुधबारै दुवै अध्यक्षले सम्बोधन गर्ने भनिए पनि संसद् बैठक भएकाले पार्टी बैठक छोट्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

पक्ष–विपक्षमा विभाजित

सचिवालयका नेताहरूमध्ये राजनीतिक प्रतिवेदनमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल एउटा कित्तामा उभिएका छन् भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य वामदेव गौतम अर्को कित्तामा उभिएका छन् । सचिवालय सदस्य रामबहादुर थापा भने विवादबारे मौन छन् ।

बैठकमा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाह, टोपबहादुर रायमाझी, मुकुन्द न्यौपाने, अमृत बोहरा, अमिक शेरचन, पेशल खतिवडा, लेखराज भट्टलगायतले पनि विधि, प्रक्रिया र मापदण्डका आधारमा पार्टी सञ्चालन गर्नुपर्ने तथा पार्टीले सरकार सञ्चालन गर्नुपर्ने धारणा राखे । 

पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्बाङ, किरण गुरुङ, गोकर्ण विष्ट, चक्रपाणि खनाल, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, वर्षमान पुन, मातृका यादव, रघुवीर महासेठ, सत्यनारायण मण्डल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेतले सरकार र पार्टी नेतृत्वकै प्रतिरक्षा गरे । पम्फा भुसाल, देव गुरुङ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतले मध्यमार्गी धारणा राखे । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्