१६औँ सत्याग्रह सुरु गर्ने केसीको चेतावनी



काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले विगतको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आगामी १७ पुसअघि पारित नभएर अनशन थाल्ने चेतावनी दिएका छन् । 

बुधबार विज्ञप्ति जारी गर्दै केसीले विधेयक ६ दिनभित्र संसद्बाट पारित नगरे १६औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । 

उनले सम्झौताविपरीत स्वास्थ्य शिक्षाका सिटिइभिटीअन्तर्गतका कार्यक्रम चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउन, रेसिडेन्सियल डाक्टरहरूलाई हतोत्साही गर्न तथा माफियाका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेलगायतका अनुचित कार्यमा शिक्षामन्त्री लागिरहेको आरोप लगाएका छन् ।

‘चिकित्सा शिक्षा विधेयकलाई लिएर मेडिकल माफियाको स्वार्थपूर्तिका लागि विगतको सम्झौतामाथि संसदीय समितिमा चलखेल भइरहेको छ’ केसीले विज्ञप्तिमा भनेका छन् ‘सम्झौताभन्दा अलिकति पनि तलमाथि गर्ने प्रयास भयो भने, हामीले यसअगाडि दिएको अल्टिमेटम (१७ पुस) भन्दा अगाडि कुनै पनि बेलामा सत्याग्रह सुरु गर्न बाध्य हुनेछौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्