टीकापुरमा सामुदायिकको प्रशिक्षण



कैलाली : सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रम कैलालीको टीकापुरमा आज (आइतबार)देखि शुरु भएको छ ।

मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई संस्थागत गर्न मुलुकका सबै प्रदेश र जिल्लाहरुका रेडक्रसका निकायहरुलाई सचेतना अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले तीनदेखि प्रशिक्षण आयोजना गरेको हो ।

प्रशिक्षणमा नेपाल रेडक्रसका कर्णाली र सुदूरपश्चिम प्रदेश समितिहरु, दुवै प्रदेशभित्र रहेका १९ वटै जिल्ला रेडक्रसका प्रतिनिधिहरु र केन्द्रीय कार्यालयका गरी २४ जना सहभागि छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलले सङ्कटासन्नता वा विपदमा परेका मानिसहरूलाई सहयोगको योजना तर्जुमा तथा सेवा गतिविधिहरुको कार्यान्वयन गर्दा समुदायका मानिसहरूलाई संलग्न गराउने, उनीहरुको आवाज, सवाल र पृष्ठपोषणप्रति संवेदनशील भई कार्यक्रमलाई अनुकुलित बनाउदै लैजाने तर्फ रेडक्रस संवेदनशील रहेको बताए । रेडक्रसका गतिविधिमा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र उनीहरुप्रतिको जवाफदेहितालाई सुदृढ गर्न अवलम्बन गरिने रणनीति र न्यूनतम गतिविधिहरुबारे जानकारी गराउन प्रशिक्षणले सहयोग पुर्याउने निर्देशक पौडेलले बताए ।

फरक–फरक लक्षित समूहहरूका लागि फरक–फरक तरिकाले कार्यक्रम र गतिविधिमा संलग्नता गराउने विधिहरुमा अभ्यास र छलफल गरिने कार्यक्रम रहेको छ ।

यसअघि प्रदेश नं २ र ३ को धुलिखेलमा तथा गण्डकी र प्रदेश ५ को कास्कीमा यस्तै खालको प्रशिक्षण गरिसकिएको छ । प्रशिक्षणमा बेलायती रेडक्रसको आर्थिक सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्