प्रदीपले भने, ‘पैतालामा लाठीले हानेपछि अपराध स्विकारेको हुँ’



कञ्चनपुर: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

 

भीमदत्त नगरपालिका–१८ भगतपुरका १९ वर्षीय प्रदीपलाई १७ मंसिरमा पक्राउ गरी प्रहरीले सार्वजनिक हितविरुद्धको अपराध मुद्दा लगाएर थुनेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका छन् ।

 

छुटेपछि रावलले आफूलाई प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको भनेर बयान दिएको उनले सुनाए ।

 

‘पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने,’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थाहा नभएको पनि उनको भनाइ छ ।

 

प्रदीपलाई कानुनी सहायता दिएका अधिवक्ता बद्री भुसालका अनुसार अपराध स्वीकार नगरेसम्म आफूमाथि कुटपिट भएको उनले बताएका छन् । ‘शरीरमा चोट त देखिएको छैन, एकदमै दुखेको छ भनेको छ, भोलि हामी उनलाई अस्पताल लैजान्छौँ,’ भुसालले भने ।

 

प्रदीप र विशालले अपराध स्वीकार गरेपछि प्रहरी निकै उत्साहित भएको थियो । तर, पछिल्लो समय प्रहरी निराश बनेको छ । प्रदीप प्रक्राउ परेको थाहा पाएपछि उनका बुबा टेकबहादुर भारतबाट नेपाल आएका थिए । सोमबार छोरालाई भेटेर उनी कञ्चनपुर गएका छन् । बुबासँग पनि उनले दबाब दिएपछि आफूले अपराध स्विकारेको, तर त्यसमा संलग्न नभएको बताएका छन् । न्युरोडको एक मःम पसलमा काम गर्ने प्रदीपलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो ।

 

‘पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने,’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थाहा नभएको पनि उनको भनाइ छ ।

 

प्रहरीले उनको डिएनए र पोलिग्राफ टेस्टसमेत गरेको छ । तर, प्रदीप र विशाल दुवैको डिएनए रिपोर्ट सार्वजनिक गरेको छैन । डिएनए नमिलेकाले नै ‘होल्ड’मा राखिएको प्रहरी स्रोत बताउँछ ।

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भने सिआइबीका निर्देशक नीरज शाही तथा केही अनुसन्धान अधिकृतसमेत लिएर बुधबार नै कञ्चनपुर गएका छन् । नयाँ कोणबाट अनुसन्धान गर्ने भन्दै आफैँ कञ्चनपुर गएका हुन् । कञ्चनपुरमा सिआइबीबाट एसपी सुदीप गिरीको नेतृत्वमा पछिल्लो चरणको अनुसन्धान भइरहेको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्