समाजवादीले सरकार पनि नछाड्ने, एकता पनि नगर्ने



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण नहुने भएको छ ।

सत्तासाझेदार दल समाजवादीको हिजो सम्पन्न संघीय परिषद र केन्द्रीय कमिटी बैठकले संघीय सरकार नछोड्ने निर्णय गरेसँगै राजपासँगको एकता अनिश्चित बनेको हो ।

शुक्रबार र शनिबार दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राजपा नेपालसँग एकीकरण गर्ने विषयमा चर्चा समेत भएन् । संघीय सरकारमै बस्ने निष्कर्ष निकाल्दै बैठकले सरकार नछोडने निर्णय गरेपछि राजपासँग पार्टी एकता नगर्ने बताएका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अहिलेकै अवस्थामा पार्टी एकीकरण नहुने बताए । आफू निकटका नेताहरुसँग ठाकुरले सरकार छोड्ने निर्णय समाजवादीले नगरेकाले एकता पनि नहुने बताएका छन् ।

‘पार्टी एकता अघि नै सरकार छोड्ने हामीबीच सहमती भएको थियो, तर समाजवादी पार्टीको बैठकले सरकार नछोड्ने भएपछि अहिलेकै अवस्थामा एकता असम्भव छ’ ठाकुर निकट एक नेताले भने, ‘सरकार पनि नछोड्ने र एकता पनि गर्ने कुरा मान्य छैन, एकता अघि सरकार छोड्नै पर्छ ।’

राजपा नेपालका उपमहासचिव संजय यादवले पार्टी एकताअघि सरकार छोड्ने सहमती अनुसार समाजवादीको निर्णय नआएकाले अहिलेकै अवस्थामा एकता नहुने बताए । एकताका लागि भएको छलफलमा सरकार छोड्ने सहमती भएको खुलासा गर्दै उनले सरकारमै बसिरहने समाजवादीसँग एकता अहिलेको अवस्थामा नहुने निश्चित भएको बताए ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बैठकमा संघीय सरकार छोड्ने र राजपा नेपालसँग एकीकरण गर्ने प्रस्ताव गरेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईको संघीय सरकार छोड्ने प्रस्ताव अर्का अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरे ।

भट्टराईले सरकार छोड्ने प्रस्ताव पेश गरेपछि यादवले केन्द्रीय कमिटी बैठक बस्नुअघि आफू निकटका नेतालाई भेला गरी भट्टराईको प्रस्ताव पारित हुन नदिन भन्दै सोही अनुसार लाग्न निर्देशन दिएका थिए ।

यसैगरी राजपा नेपालसँग पार्टी एकीकरण गरी वैकल्पिक शक्ति निर्माण गर्ने चाहनासहित भट्टराईले पटक–पटक छलफल गरेका थिए ।

तर समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल नै भएन् । भट्टराईको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा अध्यक्ष यादवले पेश पनि गरेनन् । भट्टराईले राजपा नेपालका नेतालाई संघीय सरकार छोड्ने र केन्द्रीय कमिटी बैठकबाटै निर्णय गरेर पार्टी एकतालाई अगाडी बढाउने अश्वासन दिएका थिए ।

राजपा नेपालका नेताले समेत समाजवादी पार्टी सरकार छोड्ने निर्णय गरेपछि पार्टी एकीकरण अगाडी बढाउने भट्टराईलाई बताएका थिए । तर भट्टराईको सरकार छोड्ने र राजपा नेपालसँग एकता गर्ने प्रस्ताव अलपत्र परेपछि एकता पनि अनिश्चित भएको हो ।

राजपा नेपालका महासचिव अजय गुप्ताले एकता अघिका सहमती समाजवादीले लागू नगरेपछि एकता अनिश्चित बनेको बताए । एकीकरणका लागि भएको छलफलमा सरकार छोड्ने कुरा उठेको बताउँदै उनले सो विषयमा समाजवादी सहमत नभएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्