पारससँग जोडिएकी सोनिका को हुन् ?



काठमाडौं : सानैदेखि नाच्न र गाउन खप्पिस सोनिकाको हिरोइन बन्ने सपना थियो । तर समय र परिस्थितिले उनलाई धेरै हन्डर र ठक्क्र खुवायो । उनी मोडल, युट्युवर र व्यवसायी बन्न पुगिन् ।

उनको सोचको विपरित कर्ममा जति विविधता देखिन्छ, त्यति नै प्रभाव पारेको छ उनको बाल्य जीवनले पनि । बाबुबाजेको पुख्र्यौली घर बझाङको माझीगाउँ रहेको उनी उनको बुबा तराईमा बसाइसराई गरेपछि धनगढीमा जन्मेकी हुन् ।

गरिब परिवार, द्वन्द्वको अवस्था र आर्थिक समस्या आदि थिए उनको परिवार धनगढी बसाइ सर्नुको कारण । परिवारकी जेठी छोरी, चुलबुले र चकचके पनि । जतिबेला पनि गाउने र नाच्ने । सपना नै हिरोइन बन्ने ।

तर उनी ‘लक्की’ पनि थिइन् । उनले कक्षा ५ देखि बुढानीलकण्ठ विद्यालयमा पढ्ने मौका पाएकी थिइन् । पढ्दा उनी होस्टेलमै बसिन् । नायिका रेखा थापा उनको रोल मोडल थिइन् । रेखा थापा बन्ने उनको सोच थियो । तर उनी वास्तवमा सोनिका थिइन् र सोनिका नै बनिन् । आफैले पछ्याएकी रेखा थापाबाट उनी धेरै टाढा हुन पुगिन् ।

बुढानीलकण्ठको पढाइपछि मोडलिङमा लागेकी उनी हिरोइन बन्न फिल्मकर्मीसँग बाक्लै भेटघाटमा लागिन् । उनलाई हिरोइन बनाइदिने सपना र आश्वासन पनि पाइन्, तर महिलामाथि गलत व्यवहार गरेको उनलाई धेरै मन परेन । उनले बाहिरबाट कल्पना गरेको फिल्म उद्योग त्यति आदर्शमा महिलामैत्री भएको पाइनन् । निर्देशक शोभित बस्नेतसँग उनको प्रेम वासनाको हल्ला चल्यो ।

हिरोइन बन्ने सपना त्यागिन् । फिल्म इन्डस्ट्री छोडिन् । तर पनि चर्चामा आउनु, केही कुरामा पनि मोडलिङ जारी राख्नु, आदिले उनको पूर्ववत् चाहनामा भने कुनै कमी आएको देखाएन । उनी छिरिन् पत्रकारितातिर । त्यसपछि आफैले केही गर्नुपर्छ भनी अघि सरिन् ।

नयाँ सोच र अध्यायको सुरुआतसँगै ‘केटिएम नेपाल पेज’ खोलेर फेसबुक लाइभ अन्तर्वार्ता दिन थालिन् । उनले लिएका अन्तर्वार्ता पाठकहरुले क्रमशः मन पराउन थाले । उनको काम दर्शकले चासोभित्र पर्न थाल्यो । फेसबुक लाइभमा अर्ध–वक्षस्थल देखाएको भन्दै आलोचना पनि हुन थाल्यो ।

केटिएम नेपाल पेजमा उनी धेरै रम्न सकिनन् अनि खोलिन् ‘वाउ नेपाल’ युट्युव च्यानल । त्यसमा उनी भिजे भएर काम गरिन् । उनको अन्तर्वार्ता, वातचित वा समाचार उत्पादन उक्त च्यानलमा यौनसँग जोडेर अलि केही छाडा रुपमा आउन थाले । उनी बढी लाइक र पपुल्यारिटी चाहन्थिन् ।

उनका हरेक कार्यक्रममा बोलाइ, बोल्दा शब्दको रोजाइ, हाउभाउ, पोशाक तथा बेलाबेलामा हुन र गरिने ठट्टामजाक आलोचित पपुल्यारिटीमा विकास भयो । उनले उधुम मच्चाउन थालिन् । आलोचनात्मक चर्चाले पनि उनलाई माथि उठाउन थाल्यो । उक्त च्यानलबाट उनले लाखौं फ्यानहरु कमाइन् ।

तर उनले मोडलिङ गर्ने र फिल्मतिर छिर्ने विकल्पलाई खुल्लै राखिन् । उनले केही म्युजिक भिडियोमा अभिनय पनि गरिन्, हेरिन् र प्रतिक्रिया पनि अनुभूत गरिन् । वात गरिन्, विवादमा परिन् । तर उनलाई यी सबै कुरा सहयोगी, पृष्ठपोषक र उत्प्रेरक बने ।

यसै पृष्ठभूमिमा उनले जसरी पनि सुध्रने वाचा गर्दै युट्युवमा ‘द सोनिका शो’ को थालनी गरिन् । यस्तो आत्मपरक शीर्षक शोमा उनले आफैलाई मसला बनाउने सुर कसिन् । यसले उनलाई भाइरल बनायो । धेरैभन्दा धेरै शुभेच्छुकहरु कमाइन पनि ।

अभिलाषा र चाहनामा आउने परिवर्तनहरुले सोनिकालाई बदलिरहे । फरकफरक स्वरुप र स्वादमा धकेलिरहे । उनी सोचमा आएका यिनै परिवर्तनसँग हेलिदै र जिस्कदै बगिरहिन् । उनले दरबारमार्गमा लिक्विड लाउन्ज खोलेर त्यहाँ पूर्व युवराज पारसलाई निम्तो गरिन् ।

शितल निवासमा प्रतिबन्ध लगाइएका र आफ्नै वैयक्तिक फ्ल्याट लिएर कुहिरोमा हराइरहेका पारस त्यहाँ पुगे । उनले नयाँ जीवन त्यहीबाट शुरु गर्ने सुर कसे । सोनिकासँग उनको हिमचिम र सहकार्य बढ्दै गयो । सोनिका अर्को तरिकाले चर्चामा आउने प्रेरक बन्न पुगे पारस ।

उत्तेजक अन्तर्वार्ता र भिडियो पोष्ट आदिले एक खालका समर्थकहरु बनाइसकेकी सोनिका मुम्बई पुगेर प्रख्यात भारतीय कमेडियन कपिल शर्माको अन्तर्वार्ता समेत लिन भ्याइन् । दर्शकहरुले यसलाई मन पराए पनि । पारससँगको सम्बन्धसँगै सोनिकाले छोटा कपडा नलगाउने र छाडा अन्तर्वार्ताहरु नलिने प्रतिबद्धता पनि जनाएकी छन् ।

सतिसावित्री बन्ने उनको धोको कहाँसम्म पुग्छ र टिक्छ, हेर्न बाँकी छ । एक बेलामा आफू समलिंगी भएको बताउने सोनिका केटीसाथी भएको भन्दै हिँड्थिन् । पछि उनले यो सबै झुठो भएको स्वीकार गरिन् । यस्ता कुराहरुले उनलाई नकारात्मक रुपमा चर्चामा ल्याउने बलमद्दत नै गरेको नै देखिन्छ ।

उनको आशय हुनसक्छ ‘बरु बदनाम भएर बाँच्नु, तर गुमनाम नहुनू ।’

प्रतिक्रिया दिनुहोस्