गच्छदारसँग ४ घण्टा बयान लिएको अख्तियारले अरु को–को लाई तान्दैछ ?



काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा तानिएका कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई अख्तियारले चार घण्टासम्म बयान लिएको छ । हालमात्र खोलिएको प्रधानमन्त्री निवास बालुवाटार जग्गा प्रकरण तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारको पालामा भएको थियो । उक्त जग्गा हिनामिनामा संलग्नतालाई लिएर गच्छदारलाई बयान लिइएको हो ।

यो बयान शुक्रबार साँझ ५ बजेदेखि राति ९ बजेसम्म टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लिइएको थियो । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बालुवाटार जग्गा प्रकरण अनुसन्धानको प्रक्रिया अब अन्तिम चरणमा पुगेको बताएका छन् । अनुसन्धान सकिने बित्तिकै मुद्दा दायर गरिने कोइरालाको भनाइ छ ।

हालसम्म दुई सयको हाराहारीमा बयान लिइसकिएको बालुवाटार प्रकरणमा राज्यका पूर्व भीआईपीहरु लाइन लागेर जोडिन आइपुगेका छन् । अख्तियारले पूर्व प्रमुख आयुक्त दीप बस्नेतसहित पूर्व दुई मन्त्रीससँग बयान लिइसकेको छ । ललिता निवासको २९९ रोपनी जग्गामध्ये ११३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरी चलखेल गर्दैगर्दा प्रधानमन्त्री निवास र प्रधानन्यायाधीश निवाससमेत व्यक्तिको नाममा पर्न गएपछि यसमाथि अनुसन्धान सुरु गरिएको थियो । हाल त्रिताल आयोगको प्रतिवेदनलाई आधार बनाएर अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्याउन थालेको छ ।

त्रिताल अयाोगको प्रतिवेदनले नै गुठी संस्थानका अध्यक्ष वा प्रशासकले २०३३ सालदेखि नै संस्थानको उद्देश्य अनुरुप कार्य गर्न नसकेको देखिएको र गुठीसम्बन्धी जग्गाको अभिलेख अद्यावधिक नगरेको, भएको अभिलेख नासेको वा हराएको देखिएकोले सबै अध्यक्ष वा प्रशासकहरु र सम्बन्धित कर्मचारीविरुद्ध अख्तियाले विस्तृत अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री गच्छदार र भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलगायत संलग्नतामा मन्त्रालयले निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेसँगै मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गरी भूमि सुधार कार्यालयमार्फत् गरिनुपर्ने काम गैरकानुनी रूपमा मालपोत कार्यालय डिल्लीबजारलाई निर्देशन दिई हतारमा कार्यान्वयन गराइएको थियो ।

कार्यान्वयनका क्रममा ३१ वैशाख २०६७ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले मालपोत कार्यालयलाई निर्देशन दिएको र तात्कालीन भूमि सुधार सचिव छविराज पन्तले निर्णयमाथि टिप्पणी उठाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल्नी र छोरी लक्ष्मी ढकाल, रामकुमार सुवेदीकी श्रीमती माधवी सुवेदीलाई भूमाफियाका रुपमा किटानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्