सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने



काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ ।

 

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यसअघिको व्यवस्था परिवर्तन गरी सेयर धितो मूल्यको ६५ प्रतिशतसम्म दिन पाइने प्रावधान ल्याएको जानकारी गराएको थियो। यसअघि सेयर धितोमा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था थियो। राष्ट्र बैंकको नयाँ व्यवस्थाले पुँजी बजार मापक नेप्से १२ सय बिन्दुभन्दा माथि पुगेको छ। बुधबार नेप्से सूचक र कारोबार रकम दुवै बढेको छ। नेप्से सूचक ३०.२६ बिन्दुले बढेर १२१६.२७ मा पुगेको छ । यस दिन ६९ करोड ६५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

 

‘सेयर मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ६५ प्रतिशत रकमसम्म मात्र सेयर धितोमा कर्जा प्रवाह गर्न सकिने छ,’ राष्ट्र बैंकले जारी परिपत्रमा भनिएको छ, ‘एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनर्मूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन।’

 

यसअघि सेयर बजार सुधार गर्न अर्थमन्त्री युवराज खतिवडाले केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका थिए। सोही समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा केन्द्रीय बैंकले नयाँ परिपत्र जारी गरेको हो । यसैगरी, सूचीकृत नभएका हकप्रद तथा बोनस सेयरलाई समेत हिसाब गरेर मार्जिन कल गर्न सकिने व्यवस्था गरिएको छ।

 

यसले पनि लगानीकर्तालाई निकै ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। ‘सेयर बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक था वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ।

 

मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयर सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिने छ,’ परिपत्रमा भनिएको छ, ‘यसरी प्रवाह भएको कर्जाको अवधि एक वर्षभन्दा बढी हुने छैन। सेयरको धितोमा कर्जा उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न सकिनेछ।’

 

 नयाँ व्यवस्थाले सेयर बजार ३० अकंले बढ्यो

तर, अन्य प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि थप सुरक्षणस्वरुप ऋण दिएको सेयर धितोको हकमा यो व्यवस्था लागू नहुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ। ‘सम्बन्धित बैंक÷वित्तीय संस्थाले कर्जा प्रयोजनका सम्बन्धमा आवश्यक सूचना, तथ्यांक र विवरण सम्बन्धित कर्जा फाइलमा अद्यावधिक गरेको हुनुपर्ने नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्