शिक्षकले पिटेपछि मृत्यु



बारा : शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । 

विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्‍याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।

प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्