आलम आतंक : मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा



पीडितको मुद्दा लिन नमान्ने रौतहटका तत्कालीन सरकारी वकिल वीरगन्जबाट सुर्खेत सरुवा

काठमाडौं : आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्मद अफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ । आइतबार उनको सरुवा भएको हो । असुरक्षा महसुस भएको भन्दै उनले सरुवा मागेका थिए । आलम कारागार चलान भएलगत्तै शुक्रबार नै उनी जिल्ला छाडेर काठमाडौं आएका थिए ।

मकवानपुरका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्टले केही दिनपछि अनिवार्य अवकाश पाउन लागेकाले रिक्त हुने स्थानमा कटवाललाई सरुवा गरिएको हो । रौतटहमा भने विशेष सरकारी वकिल कार्यालयमा कार्यरत सुवासकुमार भट्टराईलाई खटाइएको छ । 

त्यस्तै, ०६५ सालमा आलमविरुद्ध मुद्दा नचल्ने निर्णय गर्ने रौतहटका तत्कालीन सरकारी वकिल धु्रवमणि ज्ञवालीको वीरगञ्जबाट सुर्खेत सरुवा भएको छ । उनी उच्च सरकारी वकिलको कार्यालय वीरगन्जमा कार्यरत थिए । आलमको मुद्दा उच्च अदालतमा जाने र ज्ञवालीले नै बहस गर्नुपर्ने भएकाले उनलाई उच्च सरकारी वकिल कार्यालय सुर्खेत सरुवा गरिएको छ । उच्च सरकारी वकिल कार्यालय वीरगन्जमा विशेष सरकारी वकिल कार्यालयमा कार्यरत कृष्णमोहन कोइरालालाई पठाइएको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा विजय कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्