नेपाल–भारत सीमा विवाद : अतिक्रमित भूभाग फिर्ता गर्न कूटनीतिक वार्ताको तयारी



काठमाडौं : अतिक्रमित भूभाग फिर्ता गर्न नेपाल र भारतबीच कूटनीतिक तहमा वार्ता हुने भएको छ। राजनीतिक तहमा पुगेको विषय सचिवस्तरीय संयन्त्रमा लैजाने तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न निर्देशन दिएका छन्। लगत्तै त्यसको पहल भएको हो। ‘काम भइरहेको छ। छलफल पनि भइरहेका छन्। हामी छिट्टै वार्ताको चरणमा प्रवेश गर्नेछौं’, परराष्ट्रसचिव शंकरदास वैरागीले अन्नपूर्णसँग भने, ‘यो विषयलाई किनारा लगाउनेतर्फ अग्रसर छौं। समस्यारहित सम्बन्ध सबैको चाहना हो। यसमा हामी लागेका छौं।’

कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रमा दसगजा खाली गर्ने, सीमास्तम्भ राख्ने र मर्मत गर्ने काम भइरहेका छन्। अन्यत्रका काम टुंगिएकाले हस्ताक्षर गर्नुपर्ने र विवादित दुई क्षेत्रलाई राजनीतिक तवरमा टुंग्याउनुपर्ने प्रस्ताव भारतले गरेको छ। तर, नेपालले सबैमा एकैपटक हस्ताक्षर गर्नुपर्ने अडान राखेको छ।

काठमाडौंमा २०७१ साउनमा भएको विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको तेस्रो बैठकले परराष्ट्रसचिव स्तरमा बाँकी क्षेत्र पनि टुंगोमा लैजाने आधार तयार गर्न निर्देशन दिएको थियो। त्यसपछि दुईपटक संयुक्त आयोग बैठक बसे पनि सचिवस्तरमा अतिक्रमित भूभागबारे टुंगोमा पुगेको छैन।

प्रतिक्रिया दिनुहोस्