नख्खु कारागारमा यसरी दिन काट्दैछन् आलम



काठमाडौं : रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारागार ल्याइएको थियो ।

नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द पौडेल आलमलाई कुनै अत्तिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् । ‘यो कारागारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ कारागार प्रमुख पौडेलले राजधानीसँग भने ।

नख्खु कारागारमा तीन बन्दीगृह छन् । प्रत्येक बन्दीगृहमा ५ सयका दरले कैदीलाई व्यवस्थापन गर्दै आइएको कारागारले जानकारी दिएको छ । बन्दीगृहभित्र कैदीलाई ५ देखि ७ जनाको समूहमा राख्ने गरिएको छ । आलमलाई पनि ५ देखि ७ जना रहने कोठामा राखिएको छ । जुन समूहमा खाली हुन्छ, सोहीअनुसार कैदीलाई स्थान उपलब्ध गराउने गरिएको छ । दुई दिनको जेल बसाइमा आलमले कुनै शंकास्पद व्यवहार नदेखाएको कारागार व्यवस्थापनले जनाएको छ । कारागारले कैदी भेट्न १० देखि ४ बजेसम्मको समय छुट्टाएको छ ।

बन्दीगृहभित्रका विभिन्न कोठामा रहेका कैदीलाई ५ देखि ७ जनाको समूहमा राख्ने गरिएको छ । आलमलाई पनि ५ देखि ७ जना रहने कोठामा राखिएको छ ।

यस अवधिमा आलमका केही आफन्त कारागारमा भेट्न आएको कारागार व्यवस्थापनले जनाएको छ । पूर्वराज्यमन्त्री नवीन विश्वकर्मा र सञ्जय टकलासमेत नख्खु कारागारमा जेलजीवन व्यतीत गरिरहेका छन् । कारागार व्यवस्थापनले आलमलाई कुनै विशेष निगरानीमा राख्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

कारागारमा आलमलाई विशेष सावधानीसाथ अन्य कैदी र आफन्तसँग गरेको कुराकानीको रेकर्ड रहने गरी कडा सुरक्षा घेरामा राखिएको सूचना आए पनि यसमा कुनै सत्यता नरहेको बताइएको छ । आलममाथि १२ वर्षअघि राजपुरमा भएको बम विस्फोट घटनामा घाइते भएका झन्डै २४ जनालाई इँटाभट्टामा हालेर जलाएको आरोप छ । यस क्रममा प्रहरीका उच्च अधिकारीहरुसमेतको संलग्नता पुष्टि भएको छ ।

प्रहरीले अनुसन्धानबाट प्राप्त तथ्यलाई अदालतमा पेस गरेसँगै अदालतले घटनाको संवेदनशीलता हेरी मुद्दाको अन्तिम फैसला नभएसम्म पुर्पक्षका लागि जेल चलानको आदेश दिएसँगै आलमलाई जेल चलान गरिएको थियो । अदालतले रौतहट कारागारमा राख्न सक्ने अवस्था नभएमा देशका अन्य कारागारमा राखेर चाहेका अवस्थामा उपस्थित गराउने गरी जेल चलानको आदेश दिएपछि उनलाई काठमाडौंस्थित नख्खु कारागारमा राखिएको हो । नख्खु कारागारमा संवेदनशील मुद्दामा जेलसजाय पाएका बन्दी राख्ने गरिएको छ । यो खबर आजको राजधानी दैनिमा छ ।

प्रतिक्रिया दिनुहोस्