नेकपामा पोलिटब्यूरो गठन धकेलिँदै



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चालु स्थायी कमिटी बैठकबाट पनि पोलिटब्यूरो गठन हुन नसक्ने देखिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पोलिटब्यूरो ठनका लागि सकारात्मक नदेखिएपछि जारी स्थायी कमिटी बैठकले उक्त विषय अघि नबढाउने संकेत देखिएको हो ।

 

पार्टी एकीकरणको तीन महिनाभित्रै तल्लो तहसम्मको एकताका प्रक्रिया टुंगो लगाउने भनिए पनि अहिलेसम्म पोलिटव्ब्यूरो गठन प्रक्रिया नेतृत्वले अघि बढाएको छैन । नेता वामदेव गौतमले जारी स्थायी कमिटी बैठकमा लिखितरूपमा पोलिटब्यूरो गठनको प्रस्ताव पेस गरेका छन्। नेपकमा केन्द्रीय कमिटी सदस्यहरूलाई पनि जिम्मेवारी दिइएको छैन । बैठक स्रोतका अनुसार तत्काल पोलिटब्यूरो गठन नगरी सचिवालय र स्थायी कमिटी बैठकबाटै पार्टी सञ्चालन गर्ने रणनीतिमा दुवै अध्यक्ष रहेका छन् ।

 

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिपछि स्थायी कमिटीका धेरैजसो सदस्यले तत्काल पोलिटब्यूरो गठन नहुने संकेत गरेका थिए। अध्यक्ष दाहालले सांगाठिक विषय टुंग्याउन एक समिति बनाउन सकिने भन्ने अभिव्यक्ति दिएका थिए।

 

‘पार्टी संगठन भनेको जीवन हो यसलाई जीवन्त राख्नुपर्छ, त्यसकारण सांगठानिक विषयमा जे जति कुरा आएका त्यसको सम्बोधनका लागि एक समिति बनाएर जान सकिनेछ,’ भन्दै अध्यक्ष दाहालले केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनसम्बन्धी विषयमा उठेका सवालको जवाफ दिने प्रयास गरेको बैठक स्रोतले जानकारी दिएको छ।

 

पार्टी संगठन भनेको जीवन हो यसलाई जीवन्त राख्नुपर्छ, त्यसकारण सांगठानिक विषयमा जे जति कुरा आएका त्यसको सम्बोधनका लागि एक समिति बनाएर जान सकिनेछ। उनले स्थायी समिति सदस्यले तत्कालै पोलिटब्यूरो गठन गर्दा १ सय ४७ जनाको बन्नेछ। तर नेता गौतमले राखेको प्रस्तावअनुसार भने केन्द्रीय कमिटीमा ७७ जना महिला मनोनयन गरेर पोलिटब्यूरो गठन गर्दा १ सय ७१ जनाको बन्नेछ ।

 

नेता गौतमले राखेको प्रस्तावअनुसार पार्टी एकिकरणको प्रक्रिया नटुंगिएकै अवस्थामा केन्द्रीय सदस्य ५ सय १८, पोलिटब्यूरो १ सय ७१ जनाको छ। नेता गौतमले संविधान बमोजिम ३३ प्रतिशत महिला पु-याउन ७७ जना महिला मनोनित गरेर ५ सय १८ सदस्यीय केन्द्रीय कमिटी पु-याउनुपर्ने प्रस्ताव गरेका हुन्। केन्द्रीय सदस्यको संख्या बढाएपछि केन्द्रीय कमिटीको एकतिहाइ १ सय ७१ सदस्यीय पोलिटब्यूरो, ५७ सदस्यीय स्थायी कमिटी र १९ सदस्यीय सचिवालय बनाउनुपर्ने धारणा छ ।

 

नेकपाका २१ जना केन्द्रीय सदस्यहरूले पनि पोलिटब्यूरो गठन गरेर मात्रै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न माग गरेका थिए । केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव अर्याललगायत नेताले प्रादेशिक तहको एकता तथा कमिटीगत समायोजनका लागि केन्द्रीयस्तरबाट नै प्रयास गर्नुपर्ने र तल्ला कमिटी तथा जनसंगठनलाई आ–आफ्नो एकीकरण, समायोजन र कामको जिम्मेवारी बाँडफाँटको काम आफैं टुंग्याउन दिनुपर्ने माग गरेका थिए।

 

स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुषाललगायतका नेताले पोलिटब्यूरो गठनसम्बन्धी अजेन्डा टुंग्याएर मात्र कार्यविभाजन गर्नुपर्ने मत राखेका छन्। अध्यक्ष दाहालले १ घण्टा ५५ मिनेट बोलपछि बुधबारको बैठक सकिएको थियो। स्थायी कमिटीको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने कार्यक्रम रहेको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्। ओलीको जवाफपछि नेकपाको स्थायी कमिटी बैठक सकिने नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्