वेपत्ता र मेलमिलाप आयोगमा पुरानै अनुहार, पीडितहरु आक्रोशित



काठमाडौं : गठन भएको ४ वर्षसम्म पनि कुनै काम गर्न नसकेको भनेर पीडितहरुले असक्षम घोषणा गरेका सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उनै पुराना पदाधिकारीहरु दोहोरिने भएपछि पीडितहरु आक्रोशित बनेका छन् ।

यस विषयमा द्वन्दपीतिहरुको साझा चौतारीले पनि आपत्ति जनाएको छ । लामो समयसम्म पदाधिकारीविहिन बनेका आयोगहरुमा यसै हप्ता पूर्णता दिने तयारी भइरहेको छ । दुबै आयोगका अध्यक्ष र पदाधिकारीहरु सिफारिस गर्न गठित पूर्वप्रधानन्यायाधीस ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले अन्तिम तयारी गरेको छ । जसअनुसार मेलमिलाप आयोगमा नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेशदत्त भट्ट अध्यक्ष बन्ने भएका छन् भने आयुक्तमा पुरानै अनुहार माधवी भट्ट, श्रीकृष्ण सुवेदी, मञ्चला झा तथा गंगाधर अधिकारीले नियुक्ति पाउने भएका छन् ।

त्यसैगरी वेपत्ता आयोगमा पुरानै अनुहार पूर्वन्यायाधीस लोकेन्द्र मल्लिक अध्यक्षमा र आयुक्तहरुमा विजुलकुमार बिक, विष्णु पाठक, आइबहादुर गुरुङ र नरकुमारी गुरुङ नियुक्ति हुने भएका छन् । सिफारिस समितिले निवेदन दिएका ५४ र निवेदन नदिएका ७ जना थपेर ६१ जनाको नाम आज सार्वजनिक गरी तिमध्येबाट नियुक्तिका लागि सिफारिस गरिने समिति सदस्य शर्मिला कार्कीले बताइन् ।

गत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार दुबै आयोगका पदाधिकारीहरु नियुक्त हुँदै छन् । यसअघि मेलमिलाप आयोगको अध्यक्षमा बरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठको नाममा सहमति भए पनि पिडितहरुको बिरोध भएपछि उनको नाम हटाइएको थियो ।

त्यस्तै अधिवक्ता गोविन्द बन्दीको नाममा देउवा र सूर्य ढुंगेलको नाममा दाहालले असहमति जनाएपछि मध्यमार्गी नामका रुपमा दत्तको नाममा सहमति जुटेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्