संसद्को पहिलो बैठक : सत्तापक्ष रक्षात्मक, प्रतिपक्ष आक्रामक



काठमाडौं: प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको बताएपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्षदलका नेताहरू आक्रमकरूपमा प्रस्तुत भएका छन् ।

 

हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भनाइ राख्दै दाहालले सरकार समृद्धितर्फ अघि बढेको बताएका थिए। उनले भने, ‘स्थिर सरकार बनेपछि जनतामा सरकारप्रति आकांक्षा बढेको छ। विकास र समृद्धितर्फ जाने राजनीतिक सन्देश दिएका छौं।’ उनले भारत र चीनसँगको नयाँ सहमति दुईतिहाइ सरकारको उपलब्धिका रूपमा रहेको बताए ।

 

उनले काठमाडौंको धुलो पूरै हटेको भन्दै त्यसलाई सरकारको सफलता भन्दै प्रशंसा गरे। सरकार अधिनायकतर्फ जाने चिन्ता जाहेर गरिएको भन्दै उनले राष्ट्रको एकता, लोकतान्त्रिक प्रक्रिया, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताप्रति अडिग रहेको बताए। उनले लोकतान्त्रिक प्रणालीमा विकास निर्माण अलि ढिलो गतिमा हुने बताए। ‘छिटो गतिमा विकास हुनका लागि त पराम्परागत कम्युनिस्ट व्यवस्था नै आउनु पर्छ। त्यसले मात्र ड्यामड्याम विकास गर्न सक्छ,’ उनले भने ।

 

संघियतारूपी नयाँ शिशु जम्माएको भन्दै यसलाई राम्रोसँग हुर्काउने प्रयास गरिएन भने, अप्ठ्यारो अवस्था आउन सक्ने उनले चेतावनी दिए। ‘सत्तापक्ष मात्र होइन प्रतिपक्षलाई म सहयोग गर्न पुनः आग्रह गर्छु। संविधान कार्यन्वयनमा सत्तापक्ष प्रतिपक्ष बन्नु हुँदैन,’ उनले भने ।

 

बैठकमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार आफ्नो जिम्मेवारीबाट पूर्ण असफल रहेको बताएका थिए। सरकारले निर्मला पन्तको बलात्कारपछिको हत्या गर्ने दोषीलाई अहिलेसम्म कारबाही गर्ने काम नगरेको भन्दै दोषीलाई सरकारले बचाउन खोजेको आरोप लगाए। ‘कहिँ कतै पनि शान्तिसुरक्षा छैन, सरकार कहाँ छ ?, निर्दोष व्यक्तिलाई निर्मलाको अपराधी हुँ भन्ने कबुलियत गराएर यातना दिने काम भएको छ, यसरी निर्दोष व्यक्तिलाई यातना दिन पाइन्छ, यसको जिम्मा कसले लिने हो ?,’ उनले प्रश्न गरे ।

 

कर्मचारी समायोजन ऐन हुँदाहुँदै किन अध्यादेश ल्याउनुप-यो भन्दै देउवाले स्थायी सरकारका रूपमा रहेका कर्मचारीको वृत्ति विकास रोक्नेगरी अध्यादेश ल्याउने काम गलत भएको बताए। देउवाले डा.गोविन्द केसीसँग भएको सम्झौता अहिलेसम्म कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति पनि प्रश्न उठाएका थिए। उनले भने, ‘कि जबरजस्ती सम्झौता गराएको हो भनेर भन्नुप-यो, होइन भने सम्झौता कार्यान्वयन हुनुप-यो।’

 

यसैगरी, उनले क्रिश्चियन धर्मप्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) आयोजना गरेको एसिया प्यासिफिक समिट कार्यक्रम सरकारको संलग्नाप्रति पनि कडा आपत्ति जनाए। ‘नेपाल धर्मनिरपेक्ष हो कि के हो ?,’ उनले भने, ‘राज्यको पनि कुनै धर्म हुन्छ भन्दै यस्ता कार्यले सरकार कता जाँदैछ ?’

 

सामाजिक सुरक्षा योजना आफ्नो पालामा निर्णय भएको भन्दै यो सरकारले आफूले गरेको कामको अहिले जस लिन खोजेको बताए। यस्तै अमेरिकाको एमसीसी परियोजनामा आफ्नो सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको स्मरण गराउँदै उनले भने, ‘आफूले गरेको कुरा गर्नु नि !, अरुले गरेको कामलाई किन मैले गरेको भन्ने ?’ प्रधानमन्त्रीले नै जनतालाई भ्रम दिन थालेपछि के हुन्छ भन्दै उनले सबै तपार्इंले गरेको हो भइगयो भन्दै व्यंग्य गरेका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्