दाङ उपनिर्वाचनमा पनि नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा



दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का सांसद उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएपछि सो क्षेत्रमा पनि उपचुनाव हुँदैछ ।

सो निवार्चन क्षेत्रमा नेकपाले स्व. वलीको निधनपछि उनकै श्रीमति कमला वलीलाई उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेसले केशव आचार्यलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत ल्याएका थिए । वलीले ६ हजार ५ सय ३५ मतान्तरले जितेका थिए । त्यस्तै मालेका टोपबहादुर डाँगीले ९ सय १० पाएका थिए ।

६५ हजार ८ सय २ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ४४ हजार ६ सय ५१ मत खसेको थियो । २ हजार २ मत बदर भएको थियो भने ४२ हजार ६ सय ४९ मत सदर भएको थियो । स्व. वलीकै श्रीमतीलाई उम्मेदवार बनाइएकोले सहानुभूतिको भोटर र पहिलेको वर्षको भोटको अन्तरले गर्दा नेकपाले जित्ने आंकलन गरिएको छ । तथापि यस क्षेत्रमा यस पटकको निर्वाचनमा कांग्रेस र नेकपाबीच कडा टक्कर पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्